मौद्रिक नीतिको समीक्षाको प्रभाव शेयर बजारमा, ९२.४२ अंकको वृद्धि 

File Photo
File Photo

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा पूँजी बजारअनुकूल भएपछि त्यसको सकारात्मक प्रभाव पूँजी बजारमा देखिएको छ। केन्द्रीय बैंकले आइतबार मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गरेपछि सोमबार ९२.४२ अंकको वृद्धि भएको हो।

मौद्रिक नीतिको समीक्षामा शेयर बजारलाई नकारात्मक प्रभाव पार्ने कुनै पनि विषयलाई राष्ट्र बैंकले नचलाएपछि बजारमा बहार आएको हो।

यसअघि शेयर बजारलाई असर पर्नसक्ने मौद्रिकनीति पुनरावलोकन हुन सक्ने आशंका गरिएको थियो। यसअघि माइक्रोफाइनान्सका शेयरहरु बैंक, विकास बैंक तथा फाइनान्स कम्पनीहरुले किन्न नपाउने लगायतका व्यवस्था आउने हल्ला चलाइएका थिए।

शेयर धितो कर्जाको सीमा पनि परिवर्तन हुन सक्ने हल्ला चलेको थियो तर व्यवहारमा यी कुनै पनि कदम नचालिएपछि बजारमा सोमबार अधिक उत्सुकता देखिएको हो। सबै समूहका शेयर बढे पनि माइक्रोफाइनान्स समूहमा भने अत्याधिक तेजी आएको छ। बीमा समूहहरुमा पनि व्यापक वृद्धि देखिएको छ।

नेप्से सूचक ९२.४२ अंकले बढेर २५८६.०१ विन्दुमा आइपुगेको छ। १० अर्ब ३८ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ। २०५ कम्पनीको २ करोड २४ लाख ४७ हजारभन्दा बढी कित्ता शेयर कारोबार भएको छ। माइक्रोफाइनान्स समूह सबैभन्दा बढी ८.७४५ ले वृद्धि भएको छ।

३ दर्जनभन्दा बढी कम्पनीको भाउ सर्किट लाग्ने गरी वृद्धि भएको छ। निर्धन उत्थान लघुवित्तको सबैभन्दा धेरै ७० करोड ४८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ। यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः नबिल बैंक र छिमेक लघुवित्त परेका छन्।
 

प्रकाशित मिति: : 2021-02-15 16:03:00

प्रतिकृया दिनुहोस्