हातेमालो सहकारीले जीतपुरमा खोल्यो अर्को सेवाकेन्द्र

बाराको सिमरास्थित हातेमालो वचत तथा ऋण सहकारी संस्थाले जितपुर–सिमरा उपमहानगरपालिका–७, जीतपुरबजारमा आफ्नो तेस्रो सेवा केन्द्र शुभारम्भ गरेको छ।

जीतपुर बजारमा आयोजित सेवा केन्द्रको उद्घाटन जितपुर–सिमरा उपमहानगरपालिका मेयर डा. कृष्णप्रसाद पौडेलले पानसमा बत्ती बालेर गरेका थिए। पौडेल संस्थाका पूर्वअध्यक्षसमेत हुन्।

उद्घाटनपछि मन्तव्य दिँदै मेयर पौडेलले राष्ट्रले नै अर्थतन्त्रका तीनवटा खम्बामध्ये एक खम्बाको रुपमा स्वीकार गरेको सहकारीलाई हातेमालो जस्तो नीति, विधि र प्रविधिमा आधारित संस्थालाई नगरपालिकाको तर्फबाट गर्नुपर्ने सहयोगका लागि कुनै कमी हुन नदिने प्रतिबध्दता व्यक्त गरे।

सहकारी ऐन २०४८ अनुसार, ०६५ जेठ २० गते सिमरा बजारमा मुख्य कार्यालय रहने गरी स्थापित उक्त संस्थाले यसअघि नै जीतपुर–सिमराको वडा नं. १५, डुमरवानामा सेवाकेन्द्र स्थापना गरिसकेको छ।

स्थापनाको समयमा ८२ जना सदस्य र रु.९०,२०० सेयर पुजीबाट सुरु भएको संस्थामा हाल ३६०० जना भन्दा बढि शेयर सदस्यहरको माझमा ५४ करोडको कारोबार गरिरहेको संस्थाले आ.ब २०७६।७७ मा २ करोड ३१ लाख (करपूर्व) नाफा गरेको थियो।

आज आयोजित सेवाकेन्द्र शुभारम्भ कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष यज्ञबहादुर आलेले गरेका थिए। कार्यक्रमको स्वागत मन्तव्य संस्थाका सञ्चालक बरुण गौतमले गरेका थिए।

कार्यक्रममा जीतपुर–सिमरा उपमहानगरपालिका वडा नम्बर ७ का अध्यक्ष रामबाबु गुप्ता, स्थानीय समाजसेवी कृष्णब्रत सिंहले पनि मन्तव्य राखेका थिए। 

उक्त कार्यक्रममा संस्थाका सञ्चालकहरु क्षमादेवी अधिकारी, रामचन्द्र पौडेल, मनकुमारी खनाल तथा लेखा समितिका संयोजक डम्बरमणि थेवे लिम्बू, सदस्य सुशीला शर्मा, विभिन्न उपसमितिका सदस्यहरु तथा स्थानीय व्यवसायीहरुको उपस्थिति रहेको थियो।

कार्यक्रमको सञ्चालन हातेमालो सहकारीका  व्यवस्थापक महेश ढुङ्गेलले गरेका थिए।

प्रकाशित मिति: : 2021-02-16 17:32:00

प्रतिकृया दिनुहोस्