चुनावमा होमिन आतुर : मधेशमा बन्ला केपी–सिके गठबन्धन ?

रातोपाटी

काठमाडाैं

प्रतिनिधिसभा विघटनलगत्तै नेपाली काँग्रेस, नेकपाकै प्रचण्ड–माधव समूह, जनता समाजवादी पार्टी नेपाल लगायतका दलले विरोध प्रदर्शन गरे पनि मधेसवादी दलका रुपमा आफ्नो पहिचान देखाउँदै आएको जनमत पार्टीले भने चुनावको तयारीमा आफूलाई सक्रिय तुल्याएको छ।

मधेसमा खासै लोकप्रिय नमानिएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई मधेसवादी दलकै रुपमा स्थापित जनमत पार्टीले भने प्रधानमन्त्री ओलीकै एजेण्डाअनुसार आफूलाई चुनावमा होम्न आतुर हुनुलाई धेरैले अनौठो माने पनि जानकारहरु यसलाई केपी ओली र सिके राउतबीचको सुमधुर सम्बन्धको उदाहरणका रुपमा देखाउँछन्।

स्वतन्त्र मधेसका लागि संघर्ष गरेका सिके राउत मुलधारको राजनीतिमा आएदेखि प्रधानमन्त्री केपी शर्मा ओलीसँग निरन्तर सम्पर्कमा छन्।

जेलमै हुँदा सरकारसँग ११ बुँदे सम्झौता गरेर मुलधारको राजनीतिमा आएका सिके राउतले प्रधानमन्त्री ओलीसँगको सम्बन्धलाई बचाएर राखेका छन्।

स्वतन्त्र मधेस गठबन्धन सञ्चालन गरिरहँदा ओलीको नाम सुन्न नचाहने सिके राउतले जेलमै रहेको अवस्थामा ११ बुँदे सम्झौता गरेर निस्केपछि दल नै गठन गरेर प्रतिश्पर्धात्मक राजनीतिमा आफूलाई होमेका छन्। यसबीचमा उनले प्रधानमन्त्री ओलीको विरोधमा एक शब्द पनि खर्चिएका छैनन्।

राउत जेलबाट निस्केपछि मधेसवादी दल तथा तिनका नेताहरुको चर्को विरोध गर्दै आएका छन्। मधेसवादी दल र तिनका नेताले ओलीको चर्को विरोध गरिरहेको बेला सिके राउतले भने प्रधानमन्त्री ओलीप्रति मौन समर्थन जनाएको जानकारहरु बताउँछन्।

सिके राउतलाई मुलधारको राजनीतिमा ल्याउने काम प्रधानमन्त्री केपी शर्मा ओलीले नै गरेका थिए।

बाहिर देखिने गरि ११ बुँदे सम्झौता गरेका सिके राउतले प्रधानमन्त्री ओलीसँग आन्तरिक रुपमा अन्य विषयमा पनि सहमति गरेको स्रोतहरुको बुझाइ छ। तर प्रधानमन्त्री ओली र राउतबीच के कस्ता विषयमा सहमति भएको छ भन्नेबारे ठोस जानकारी कतैबाट पनि प्रकाशमा आउन सकेको छैन।

प्रकाशित मिति: : 2021-02-17 12:03:00

प्रतिकृया दिनुहोस्