नेपाली कांग्रेसः महाधिवेशन नभएकाले विधानले जोगाउन भ्याएन, अब संविधानको भर

बिबिसी

काठमाडाै‌ं

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी विभाजनको भुमरीमा परेको बेला विपक्षी नेपाली कांग्रेस पनि सुदृढ अवस्था देखिँदैन।

बुधवार कांग्रेसले आफ्नो कार्यसमितिको बैठक डाकेको छ।

सो बैठकको दुई मुख्य एजेन्डा रहेको नेता प्रकाशशरण महतले बीबीसीलाई बताए।

"पहिलो एजेन्डा त अब फागुन ७ देखि हुने भनिएको महाधिवेशन नहुने भएपछि संविधानबमोजिम छ महिना अवधि थप्ने प्रस्ताव हुनेछ, अनि दोस्रो चाहिँ भाद्रभित्र सक्नेगरी महाधिवेशनको कार्यतालिका मिलाउने हुनेछ," महतले बताए। उनका अनुसार बैठक एक-दुई दिनमा सकिनेछ।

किन हुन सकेन महाधिवेशन?

बहत्तर सालमा भएको महाधिवेशनपश्चात् कांग्रेसको विधानअनुसार चार वर्षभित्र अर्को महाधिवेशन भइसक्नुपर्थ्यो।

तर विविध कारणले त्यो गर्न नसकिएको भन्दै गत वर्ष पौषमा विधानबमोजिम एक वर्ष थपिएको अनि यही फागुनमा अर्को महाधिवेशन गर्ने भनिएको थियो।

तर फेरि कोरोनाभाइरस महामारीको कारण देखाउँदै अहिले पनि महाधिवेशन गर्न नसकिने स्थिति आएको सभापति देउवा पक्षधरको भनाइ छ।

"कोभिड महामारीका कारण पाँच महिना त निषेधाज्ञा र लकडाउननै भयो। क्रियाशील सदस्यता वितरण हुन सकेन। ठूलो पार्टी छ, झन्डै १० लाख हाराहारीमा सक्रिय सदस्यको (कुरा) टुङ्ग्याउनुपर्छ। वडा तहदेखि काम गर्दै आउनुपर्छ, त्यसैले यसपालि सकिएन," सभापति देउवानिकट नेता प्रकाशशरण महतले ढिला हुनुको कारणबारे ‍यस्तो स्पष्टीकरण दिए।

प्रकाशित मिति: : 2021-02-17 15:45:00

प्रतिकृया दिनुहोस्