एशियाकै पहिलो सुरुङमार्गको पुनःनिर्माणका लागि बोलपत्र आह्वान

रासस

काठमाडौं

एशियाकै पहिलो मानिएको चुरियामाई सुरुङमार्गको पुनःनिर्माणका लागि विहीबार बोलपत्र आह्वान गरिएको छ।

वाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको यातायात पूर्वाधार निर्देशनालयले करिब रु पाँच करोडको अधिकतम सीमाभित्रमा सुरुङमार्गको निर्माण सम्पन्न गर्न सक्ने ठेकेदार कम्पनीलाई प्रस्ताव प्रस्तुत गर्न आह्वान गरेको यातायात पूर्वाधार निर्देशनालयका प्रमुख डा सहदेवबहादुर भण्डारीले जानकारी दिए।

प्रदेश सरकारले उक्त सुरुङमार्गको पुनःनिर्माण गरेर पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने योजना अघि सारेको छ।

सुरुङसँगै सुन्दर टोनी हेगन उद्यानलगायतको संरचना निर्माण गरिने प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँल जानकारी दिए।

प्रदेश–२ को बारा र वाग्मती प्रदेशको मकवानपुरलाई जोड्ने चुरियामाई सुरुङमार्ग आजभन्दा १०४ वर्ष अघि सन् १९१७ मा राणा प्रधानमन्त्री चन्द्रशम्शेरको पालामा निर्माण भएको हो। उक्त मार्गबाट विसं २०२० सम्म सवारी आउजाउ हुने गरेको अग्रजहरु बताउँछन्।
 

प्रकाशित मिति: : 2021-02-19 07:49:00

प्रतिकृया दिनुहोस्