शालीनदीमा मनाइयो लगला सप्तमी

Lokantar

प्रत्येक वर्ष माघ शुक्ल सप्तमीका दिन साँखुमा माधवनारायणका वर्तालुले मनाउने लगला सप्तमी पर्व आज विधिपूर्वक मनाइएको छ।

लगला सप्तमीका दिन सल्लाको काठमा कपडा बेरेर तेलमा चोपी बालेर पाएसम्म नरिवलको जटा र नपाएमा सालको पातको टपरीमा राखेर शालीनदीमा बगाउने गरिन्छ। 

विशेषगरी वर्तालुले यसरी बत्ती बालेर शालीनदीमा बगाउने गरेको साँखुबाट प्रकाशित लावण्य सन्देश साप्ताहिकका सम्पादक पवनलाल श्रेष्ठले राससलाई जानकारी दिए। यसो गरेमा मनोकाङ्क्षा पूरा हुने र पाप पखालिई पुण्य पाइने विश्वास छ ।

यस दिनमा गत वर्ष माधवनारायणको व्रत बसेकाहरु पनि थपिने गरेका छन्। यसवर्ष भने कोरोना महामारीका कारण विगत वर्षका सबै वर्तालु आउन सकेनन्। 

बिहानी समयमा यसरी बत्ती बगाएपछि दिउँसो साँखु बजारमा माधवनारायणलाई रथमा राखी घुमाइन्छ। यसअघिका दिन माधवनारायणलाई हातमा बोकी हिँडाउने गरेकामा आज भने रथमा राखी घुमाइन्छ। 

माधवनारायण घुमाउने बाटोमा साँवागणले नाग बनाउने चलन पनि छ। माधवनारायणको रथयात्रामा पुरुष वर्तालुले नाग बनाएका स्थानमा गुल्टिने र सहस्रधारा बोक्ने गर्छन्। महिला वर्तालुले भने फूल प्रसाद चढाउँदै हिँड्छन्। 

माधवनारायणको रथयात्रा घुमाउने क्रममा माध गीतसमेत गाइएको छ। यो गीत भने बारअनुसार गाउने प्रचलन छ। यो गीतमा विशेषगरी भगवान्को नाम स्मरण गरिन्छ। यो प्रक्रिया पूरा गरी आज साँखु क्षेत्रमा लगला सप्तमी पर्व मनाइएको छ। 

विगत वर्षमा करिब ४०० जनाले माधवनारायण व्रत गर्ने गरेकामा यस वर्ष कोरोना महामारीका कारण ४९ जनालाई मात्र स्वास्थ्य सुरक्षाका विधि अपनाएर सुरक्षितसाथ राखिएको छ। 

महिला ३५ र पुरुष १४ गरी ४९ जना यसपटक व्रतमा सहभागी भई परम्परादेखि गरिँदै आएको माधवनारायण व्रतको संस्कृति संरक्षण गरिरहेको श्री माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिका अध्यक्ष मीजेन्द्रकाजी श्रेष्ठले बताए। 

कोरोना महामारी भए पनि शालीनदीमा विगत वर्षमा जस्तै दर्शनार्थीको भीड लाग्ने गरेको छ। कोरोनापछि सबै क्षेत्र खुला भइसकेकाले दर्शनार्थीबिना हिच्किचाहट शालीनदीमा आइरहेका छन्। 

शङ्खरापुर नगरपालिकाले माधवनारायण मेला नचलाउने भने पनि देशका विभिन्न भागबाट स्वतःस्फूर्तरुपमा भक्तजन शालीनदीमा आएको समितिले जनाएको छ।

माधवनारायण मेलामा विगत वर्षको भन्दा पनि बढी भक्तजनको भीड लागेको छ। माधवनारायण मन्दिर छिर्न चाहने भक्तजनलाई निःशुल्क स्यानिटाइजर र मास्क वितरण गरिएको छ। अन्यत्र आउने भक्तजनलाई भने मास्क र स्यानिटाइजर प्रयोग गर्न माइकिङ गरिएको छ। माधवनारायण मेलाले ऐतिहासिक, सांस्कृतिक र धार्मिक शहर साँखुमा चहलपहल बढेको छ।

साँखु एवं शालीनदी आउने सार्वजनिक यातायातमा भीड छ। भक्तजन बढी आउने भएपछि यातायातमा दूरी कायम हुने अवस्था छैन । यात्रु कोचाकोच गरेर यात्रा गरिरहेका छन्। 

पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म साँखुस्थित शालीनदीमा माधवनारायण व्रत हुने गरेको छ। शालीनदी मेला लाग्ने यो समयमा देशका विभिन्न स्थानका साथै विदेशबाट समेत श्रद्धालु भक्तजन साँखु आउने गरेका छन्। रासस 

प्रकाशित मिति: : 2021-02-19 22:01:00

प्रतिकृया दिनुहोस्