दोलखामा खुकुरी प्रहार गरी श्रीमतीको हत्या, भाग्दै गरेका श्रीमान पक्राउ

संकेतिक तस्वीर
संकेतिक तस्वीर

दोलखामा श्रीमानले श्रीमतीको हत्या गरेका छन्। कालीन्चोक गाँउपालिका– ६ खारेबेसीका हिमाल थामीले २३ वर्षीया श्रीमती सुनिता थामीको हत्या गरेका हुन्।

शुक्रबार राति २ बजेतिर थामीले श्रीमतीमाथि खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय दोलखा प्रहरी नायब उपरीक्षक (डिएसपी) भेषराज रिजालले जानकारी दिए।

श्रीमतीको हत्या गरी भाग्न खोज्ने थामीलाई दोलखा प्रहरीले पक्राउ गरेको छ। हत्याको खबर पाएलगतै डिएसपी रिजाल आफै घटना स्थलमा पुगेका थिए। 'करिब २ बजेको हाराहारीमा घटना भएकोे हामीलाई खबर आयो'- डिएसपी रिजालले भने, 'घटनास्थलमा पुगेर विहान ४ बजे अभियुक्तलाई पक्राउ गर्‍याे।' 

श्रीमतीको हत्यापछि थामी गाँउबाट भाग्ने तयारीमा थिए। प्रहरीले गाँउमा घेरा हालेर थामीलाई पक्राउ गरेको दोलखा प्रहरीले जनाएको छ।

पक्राउ परेका थामीलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय दोलखामा ल्याइएको छ। घटनको बारेमा अनुसन्धान जारी रहेको डिएसपी रिजालले बताए।

प्रकाशित मिति: : 2021-02-20 10:17:00

प्रतिकृया दिनुहोस्