ट्राफिक कोनको प्रयोगपछि सडकमा दुर्घटना घट्यो 

सवारी दुर्घटना न्यूनीकरणको लागि सडकमा टल्किने गरि राखिएका ट्राफिक कोन प्रभावकारी हुँदै गएको छ। 

महानगरीय ट्राफिक प्रहरी महाशाखाले सडकमा बिशेषगरी रातिको समयमा सडक बत्ती नहुँदा अध्याँरोको कारण जेब्रा क्रसिङ्ग तथा जथाभावी बाटो काट्ने पैदलयात्री र तीव्र गतिमा सवारी चलाउँदा दुर्घटनाको जोखिम उच्च भएपछि ट्राफिक कोन राख्न थालेको हो।  

महाशाखाले सडक विभाग, स्थानीय निकाय तथा विभिन्न संघसंस्थासँग समन्वय गरी ट्राफिक कोन राखेको हो। 

काठमाडौं उपत्यकाको चक्रपथभित्र ८ तथा चक्रपथबाहिर २६ गरि ३४ स्थानमा ट्राफिक कोन राखेको छ। 

कोनको प्रयोगपछि रातिको समयमा हुने सवारी दुर्घटनामा कमी आएको महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले बिएल नेपाली सेवालाई बताए।  

उनका अनुसार कोन प्रयोग गर्नु अघिसम्म उपत्यकाका ती स्थानमा महिनामा औषत ६ जनाको मृत्यु हुन्थ्यो भने कोनको प्रयोगपछि कुनै मानिसको दुर्घटनाबाट ज्यान गएको छैन। 

प्रमुख एसएसपी भट्टराईले भने,–‘हामीले प्रयोगमा ल्याएको कोन अभियानपछि सवारी दुर्घटनाबाट कसैले पनि ज्यान गुमाउनु परेको छैन। यो हाम्रो लागि ठूलो उपलब्धि हो।’

महाशाखाले सवारी दुर्घटनाको न्यूनीकारणको लागि विभिन्न अभियान सञ्चालन गर्दै आएको छ। जसले विगतको तुलनामा सवारी दुर्घटनाबाट हुने मानवीय क्षति कम हुँदै गएको छ। केहि दिन आगाडीदेखि महाशाखाले जेब्रा क्रसिङमा पैदल यात्रीको व्यवस्थापनको लागि ट्राफिक स्वयमसेवक पनि परिचालन गरेको छ।

प्रकाशित मिति: : 2021-02-20 14:07:00

प्रतिकृया दिनुहोस्