मालामाल शेयर बजार

बाल नेपाल

क्यानडा

शेयर बजारमा चासो राख्ने सवैलाई पछिल्ला केही साता निकै चाखलाग्दो बन्यो। भिडयो गेम र त्यस सम्बन्धी उपकरणको ब्यापार गर्ने तर टाँट पल्टिन लागेको ठानिएको गेमस्टप कम्पनीको शेयरभाउँ सयौं प्रतिशतले बढ्यो।

गत अगस्टमा पाँच अमेरिकी डलरको हाराहारीमा खरिद बिक्री भइरहेको गेमस्टपको भाउँ गत केही साता चार सय अमेरिकी डलरको छेउ पुग्यो। यस्तो अवस्थाले अमेरिकी शेयर बजारनै धरासयी हुने होकी भन्ने चिन्ता केही वित्तिय विश्लेषकले गरे। गेमस्टपको शेयर भाउँ बढ्नुको कारण ठूला लगानी गर्ने र थोकमा केही सेयर किन्ने र बेच्ने साधारण मानिसबीच युद्धको रुपमा पनि लिइयो।

कोरोनाका कारण बन्द भएर ब्यापार नभएपछि टाँटनै पल्टिने अवस्थामा पुगेको चलचित्र भवन सञ्जाल एएमसीको सेयर भाउँ पनि आँकासियो। यसैबेला ब्ल्याक एन्ड बेरी, बेड बाथ एन्ड वियोन्डलगायत एक दर्जन शेयरको भाउँ अचम्म तरिकाले बढ्यो। यसको पछाडि शेयर बजारमा सधैं भइरहने सर्ट सेलनै प्रमुख कारण थियो।

ठूला शेयर खेलाडीले कसरी बजारमा फाइदा लिन्छन् भन्ने जानकारी थोरै शेयर खरिद गरेर भविष्य सुनिश्चत गर्न खोज्ने सर्वसाधारणले पाउनु र त्यसलाई विष्लेषण गर्ने क्षमता विकास गर्नु नै यो घटनाको प्रमुख कारण मान्न सकिन्छ। शेयर बजारको इतिहासको अध्ययन गर्दा जान्नेपर्ने घटनाका रुपमा भएको यो असाधारण अवस्थालाई यो लेखमा केही प्रस्ट्याउने प्रयत्न गरिएको छ। 

सर्ट सेल

गेमस्टपको शेयर आकासिनुको प्रमुख कारण सर्ट सेल हो। त्यसकारण सर्टसेल बारे पहिले बुझौं। कुनैपनि कम्पनीको वित्तिय अवस्था राम्रो छैन भने भविष्यमा त्यसको स्टक मुल्य घट्छ भन्ने अनुमान गर्न सकिन्छ । साधारण अवस्थामा भविष्यमा कुनै पनि कम्पनीको स्टक मुल्य घट्छ भन्ने लागेमा स्टकनै ऋणमा लिएर हालको बजार भाउँमा बेचिन्छ। अनि भविष्यमा स्टक मुल्य घट्दा त्यसलाई फेरि बजारबाट किनिन्छ र जोसँग स्टक ऋणमा लिइएको हो, उसलाई फिर्ता गरिन्छ। त्यसबापत केही ब्याज तिर्नेपर्ने हुन्छ।

शेयर बजारमा कारोबार गराउने ब्रोकरले त्यसरी स्टक ऋणमा दिने गर्छन र त्यसबापत ब्याज लिने गर्छन। ऋणमा लिइएको स्टक निर्धारित समयमानै ब्रोकरलाई फिर्ता गर्नुपर्ने हुन्छ। यो घटनाले कुनै पनि कम्पनीको बजारमा रहेको स्टक संख्याभन्दा पनि बढी सर्ट सेल हुन सक्छ भन्ने सर्वसाधारणले समेत जानकारी पाए। बजारमा भएको स्टकलाई सय प्रतिशत मान्दा गेमस्टपको सेयर १ सय ३७ प्रतिशतसम्म सर्ट सेल भएको रहेछ। त्यसको मतलब सय वटा मात्र सेयर बजारमा भएकोमा १ सय ३७ वटा सेयर बजारमा बिक्री गरिया,े सर्ट सेलबाट। यसैबेला स्टक बजारका ठूला खेलाडी ‘हेज फन्ड’ बारे पनि जानकारी उपयुक्त हुन्छ। स्टक बजारमा ठूला लगानी गर्नका लागि स्थापित कम्पनी ‘हेज फन्ड’ का नाममा चिनिन्छन्।

विशेषत त्यस्ता कम्पनीले सर्ट सेलबाटनै नाफा कमाउने गर्दछन्। त्यसका निम्ती हेज फन्डले कुनै पनि कम्पनीको वित्तिय अवस्थादेखि उत्पादनसम्मको अनुसन्धानमा करोडौ डलरसम्म खर्च गर्छन्। ती कम्पनीको कुनै पनि नकारात्मक जानकारी अनुसन्धानबाट भेटिएमा अनुसन्धानको प्रतिवेदन सार्वजनिक गर्दछन्। तर, नकारात्मक प्रतिवेदन सार्वजनिक गर्नुअधि हाल बजारमा चलिरहेको बढी मुल्यको स्टक सर्ट सेल गर्छन्। मतलब ब्रोकरसँग स्टक ऋणमा लिएर ब्याज तिर्ने र निश्चित समयमा फिर्ता गर्ने प्रतिवद्तता ब्यक्त गर्छन्। नकारात्मक प्रतिवेदन र एक्कासी बजारमा मागभन्दा बढी बिक्री भएपछि बजारमा उक्त कम्पनीको स्टकभाउ घट्दछ। जब स्टक भाउ बजारमा घट्दछ, ती हेज फन्डले फेरी बजारबाट सस्तोमा स्टक किन्दछन् र ब्रोकरलाई स्टक फिर्ता गर्दछन्।

यसैबीच अर्को जानकारी पनि लिउँ। नयाँ योजना कार्यान्वयन गर्न पूँजी अभाव भए बजारमा नयाँ स्टक जारी गरेर पूँजी जम्मा गर्ने सुविधा पब्लिक कम्पनीलाई। तर, लगातार सर्ट सेलका कारण स्टकको भाउँ घट्दो क्रममा रहेको कम्पनीको वित्तिय अवस्थामा लगानीकर्तालाई विश्वास नहुने हुन्छ र लगानीको अभावमा कम्पनी टाँट पल्टिनेसम्म हुन सक्छ। यसको विपरित, राम्रा र ठूला कम्पनीमाथि लगानीकर्ताको अतिविश्वास भई स्टक बेच्नेभन्दा लगानीकर्ता बढ्ने गर्दछ। जसका कारण कम्पनीको स्टक मूल्य अप्राकृतिक रुपमा बढ्न सक्छ। त्यस्तो अप्राकृतिक मूल्यलाई नियन्त्रणमा लिने पनि गर्दछ सर्ट सेलले।

के हो गेमस्टपको सर्ट सेल?

गत सेप्टेम्बरमा गेमस्टपले माइक्रोसफ्टको सहायतामा कम्पनीको सम्पूर्ण सप्mटवेयर अपडेट गर्यो। सो समाचार बजारमा आएपछि स्टकमा लागेका साना लगानीकर्ताले गेमस्टपको सेयर किने। जसका कारण त्यसको भाउँ बढ्यो। त्यो भाउँ बढेपछि ठूला लगानीकर्ताले यसको भाउ त घट्छ भन्ने अनुमान गर्दै धमाधम गेमस्टप स्टकको सर्टसेल गर्न थाले। तर अवस्था यस्तो भइदियो कि गेमस्टपको शेयर १ सय ४० प्रतिशतसम्म सर्ट सेल भइदियो। यसभन्दा अघि यस्ता घटना हुने भए पनि साना लगानीकर्ताले यसबारेमा पर्याप्त जानकारी नपाउँदा स्टकको भाउँ घट्दै गएर कम्पनी टाँट पल्टिनेसम्म हुने गर्दथ्यो। साना लगानीकर्ता शेयर बजारको प्रविधिक पक्षबारे निकै जानकार भइसकेकाले गेमस्टपको सर्टसेलबारे जानकार भए।

यसको प्राविधिक पक्षबारे साना लगानीकर्तालाई जानकार गराउने काम गर्यो वालस्ट्रिट बेटले। वालस्ट्रिट बेट रेडइट नामक समाजिक सन्जालमा रहेको एक फोरम हो, जसमा साना लगानीकर्ता एक आपसमा सेयर बजार र कुनै कम्पनीबारे छलफल गर्छन। सन् २०१२ सुरु भएको वालस्ट्रिट बेटमा आवद्ध ब्यक्तिको संख्या करिब पचास लाख रहेको छ। सोही सामाजिक सञ्जालमा गत सेप्टेम्बरमा गेम स्टपबारे चर्चा सुरु भयो। र, गेम स्टपको सेयरमा भइरहेको सर्ट सेलबारे पनि। अनि सर्ट सेलरले बजारमा सस्तोमा किन्नुअघिनै साना लगानीकर्ताले गेमस्टपको स्टक किने अनि त्यसलाई होल्ड गरे। जसका कारण तोकिएको समयमा मिलान गर्नका निम्ती सर्ट सेलरहरुले बढीनै मूल्यमा भएपनि गेमस्टपको स्टक खरिद गर्नुपर्ने अवस्था आयो। सोही कारण सर्ट सेल गर्ने मेल्भिन क्यापीटलले लगभग ३ बिलियन अमेरिकी डलर गुमाउनु पर्यो। साना लगानीकर्ता सामाजिक सञ्जालको माध्यमबाट एकजुट भई गेम स्टपको स्टक होल्ड गर्दा यो अवस्था श्रृजना भएको थियो। 

सेयर बजारमा जनसाधारणको आकर्षण

गत बर्ष कोभिड–१९ बाट विश्व आक्रान्त हुँदा शेयरबजारमा जनसाधारणको रुचि अचाक्ली बढ्न पुगेको हो। कोभिडका कारण विद्यालय, कार्यालय, बजार सवै बन्द हुँदा युवा, जो रोमान्चकतामा मनपराउँछन्, उनीहरु शेयर बजारमा रमाउन सुरु गरे। अमेरिकी सरकारले दिएको कोभिड भत्ताले पनि सर्वसाधारण र युवालाई सेयर बजारतर्फ आकर्षित गर्यो। स्टक कारोबार सजिलै गर्न मिल्ने इन्टरफेस भएको ‘रबिनहुड एप’ ले पनि सर्वसाधारणलाई सेयर बजारमा प्रवेश गर्न सजिलो बनायो। यद्यपि सेयर बजारको जानकारी बिनै रोमान्चकताका लागि स्टक खेल्ने जनसाधारणका कारण टाँटपल्टिने घोषणा गरेको एक कम्पनी हर्जको सेयर मूल्यसमेत आकाँसियो। अर्को घटना अझै चाखलाग्दो छ। टेसलापछि निकै आकर्षक र क्षमतामा पनि अगाडी देखिएको विद्युतीय कार कम्पनी लुसिड मोटरले गत अगस्टमा नयाँ कारको घोषणा गर्यो।

टिकर सिम्बलमा लुसिड नाम रहेको कारण पचास सेन्टको हाराहारीमा कारोबार भइरहेको क्यालिबर इमेजिङ एन्ड डाइग्नोस्टीकको सेयर मुल्य ६ डलरभन्दा माथि पुग्यो। लगानीकर्ताले अध्ययन र जानकारीभन्दा पनि नामकै कारण हतारिएर क्यालिबर इमेजिङको स्टकमा लगानी गर्न पुगेका थिए। भलैपछि सवैले त्यसको जानकारी पाएपछि क्यालिबरको स्टक मुल्य पुरानै अवस्थामा पुग्यो। तर, त्यसबीचमा लाखौं अमेरिकी डलर बनाउने र गुमाउनेको संख्या पनि उल्लेख्य मात्रा थियो। 

त्यसैले केही जानकारी तथा अध्ययन गरेर मात्र स्टक कारोबारमा हातहाल्नु उपयुक्त हुने देख्नु हुन्छ, हाल अमेरिकामा रहनुभएका आर्थिक पत्रकार नारायण सापकोटा। ‘प्रविधि, सामाजिक सञ्जाल र सामाजिक अवस्थाले सर्वसाधारणलाई सेयर बजारतिर आकर्षित गरेको छ, अध्ययनपछि स्टक बजारमा हात हाल्दा आर्थिक भबिष्य राम्रो हुने सम्भावन प्रवल रहन्छ,’ सापकोटा भन्नुहुन्छ, ‘विश्व बजार, अर्थ तथा राजनीतिका विषयमा सधैं चनाखो हुने अनि जुन कम्पनीमा लगानी गर्ने हो त्यसबारे प्रयाप्त जानकारी लिनु स्टक बजारमा नोक्सानीबाट बच्ने पहिलो र एकमात्र हतियार हो।’ 

सापकोटाको अनुभवमा राम्रा ब्रोकरले सधैं जसो स्टक बजारबारे जानकारी दिन कक्षा सञ्चालन गर्छन्। त्यसैले राम्रो ब्रोकर छान्नु पनि नयाँ लगानीकर्ताको निम्ती महत्वपूर्ण रहेको सापकोटाको भनाई छ। ‘बजार र बेसिक विषय जानकारी बिनै स्टकमा लगानी गर्दा हुनसक्ने फाइदा नहुने सम्भावना धेरै छ’, सापकोटा भन्नुहुन्छ।

लामो समय आर्थिक पत्रकारीता गर्नुभएको सापकोटा नेपाली स्टक बजारको राम्रै जानकारी राख्नु हुन्छ। यद्यपि सुरुवाती समयमा अमेरिकी सेयर बजारबारे जानकारी नहुँदा केही समय अन्योलमा परेको अनुभव बाँड्नुहुन्छ। सापकोटोको सल्लाह छ, ‘स्टकको लगानी गर्ने भनेको आर्थिक भविष्य सुनिश्चित गर्नु हो, ब्रान्डनेम भएका कम्पनीमा लङ टर्म इन्भेसमेन्ट गर्नु सवैभन्दा उपयुक्त हुन्छ।’ सापकोटाको अनुभवमा साना लगानीकर्ताका रुपमा धेरै नेपाली अमेरिकी सेयर बजारमा रुचि लिइरहेका छन्।

सामाजिक सञ्जालमा नेपाली ट्रेडर्स

पछिल्लो समय साना लगानीकर्ताको रुचि अमेरिकी सेयर बजारमा बढ्दै गर्दा नेपालीको संख्या पनि स्टक मार्केटमा बढ्दै गइरहेको छ। एकल रुपमा पहिलेदेखि नै स्टक बजारमा कारोबार गर्दै आइरहेका नेपाली विभिन्न सामाजिक सञ्जालमा समेत अमेरिकी स्टक मार्केटको विचार विमर्शमा ब्यस्त देखिन थालेका छन्। नेपाली मात्रको सहभागिता रहेको कयौं समूह सामाजिक सञ्जाल फेसबुक, टिकटक, डिस्कोर्डमा देखिन्छन्।

शेयर बजारमा नेपालीको अभिरुचीलाई ध्यानमा राखेर पछिल्लोसमय स्थापित नेपाली ट्रेडर्स एसोसियसनको डिस्कोर्ड च्यानलमा युरोप र अमेरीकाका हजारौं नेपालीको सहभागीता देखिएको छ। स्टक कारोबार गर्न चाहने तर त्यसबारे जानकारी नभएर अन्योलमा रहेका धेरै नेपाली देखेर नेपाली ट्रेडर्स एसोसिएसन स्थापना गरेको बताउनुहुन्छ शिव नेपाल। ‘बजारमा लगानी गर्ने साथीबीच छलफल हुँदा स्टक बजारबारे सामान्य जानकारी पनि नभएको धेरै पाएँ’, शिव भन्नुहुन्छ, ’त्यसैले आफ्नो अनुभव अरुलाई सुनाउने अनि आफू पनि केही सिक्ने योजनाका साथ मिलिनियर नेपाली ट्रेडर्स नामबाट डिस्कोर्ड च्यानल सुरु गर्यौ।’ शिव थप्नु हुन्छ, ‘क्यानडाको म अनि अमेरिकामा रहेका सागर पाठक, दिपेश भट्ट, खुम ढकाल र विवेक राजकुँवरको प्रयासमा हाम्रो यो च्यानल सुरु भएको हो।’

डिस्कोर्ड सुरु गरेको केही सातामानै स्टकमा रुची राख्ने अस्ट्रेलिया, युरोप र अमेरिकाका हजारौं नेपाली ट्रेडर्स च्यानलमा आवद्ध भइसकेका छन्। ‘स्टक छलफलका लागि नेपाली मात्र सहभागी विश्वकै ठूलो सामाजिक सञ्जाल बनाउने अभियानमा छौं, यो डिस्कोर्डलाई’, अर्का संस्थापक कुँवर बताउनु हुन्छ। मिलिनियर नेपाली ट्रेडर्स च्यानलले सातामा एक पटक छलफल गर्ने गरेको छ। कसरी ट्रेड गर्ने, कसरी नोक्सानबाट जोगिने, अवको साता कुन कम्पनीमा लगानी गर्न उपयुक्त हुन्छ भनेर बैठकमा छलफल हुने गरेको जानकारी मिलिनियर नेपाली ट्रेडर्स च्यानलका अर्का संस्थापक खुम ढकाल दिनुहुन्छ। ‘हाम्रो उद्धेश्य आफूले ट्रेडिङमा भोगेको अनुभव अरुलाई सुनाउने र यसबाटनै कसरी धन आर्जन गर्न सकिन्छ भनेर छलफल गर्नु हो,’ खुम भन्नुहुन्छ।

डिस्कोर्ड सामाजिक सञ्जालको प्राविधिक जिम्मेवारी सागर पाठकले सम्हाल्नुभएको छ। थोरै समयमानै धेरै नेपालीको सहभागिता डिस्कोर्डमा बनाउनुको प्रमुख ब्यक्ति हुनुहुन्छ सागर। सो डिस्कोर्डमा सामान्यभन्दा सामान्य प्रश्नको ओइरो आउने गरेको अनुभव अर्का संस्थापक दिपेश भट्टको छ। युरोप र अमेरिकाको समय फरक हुँदा एक समय युरोप र अस्ट्रेलियाका नेपाली ट्रेडर्स अनि अर्को समय अमेरिका र क्यानडाका ट्रेडर्सको सहभागिता हुँदा चौबिसै घन्टा च्यानलमा स्टक बजारबारे जानकारी खोज्ने नेपालीको सहभागिता देखिन्छ।

स्टक बजारबारे जानकारीका निम्ती नेपालीको उत्साह देखेर उद्यमी तथा लेखक सतिश गैरै हौसिनुभएको छ। मिलिनियर नेपाली ट्रेडर्सलाई ब्यवसायीक बनाउने योजना बनाउँदै गैरे नेपाली ट्रेडरलाईनै लक्षित गर्दे ‘डे ट्रेडिङ’ बारे पुस्तक लेख्दै हुनुहुन्छ।

‘प्राविधिक पक्षको जानकारीले ट्रेडमा धेरैनै फाइदा पुर्याउँछ’, चार्ट प्यार्टन नामक पुस्तकका लेखक सतिश गैरे भन्नुहुन्छ, ‘चार्टको एनालाइसिस गर्दै स्टक कारोबार गर्दा नब्बे प्रतिशतभन्दा बढी नाफानै हुन्छ।’

त्यसोत दस बर्षको हुँदानै अमेरिका छिर्नुभएका सतिसको चार्टबारे पुस्तक लेख्नुको कारण पनि आफूले पाएको जानकारी सजिलैसित अरुले पनि बुझुन् भन्ने रहेको छ। ‘सात बर्षअघि स्टक कारोबार सुरु गर्दा टेक्निकल नलेज मलाई त्यति थिएन, त्यसपछि धेरै बुक पढेँ’, सतिस भन्नुहुन्छ। विभिन्न पुस्तकबाट हासिल गरेको जानकारीलाई एकै ठाउँमा जम्मा गरेर सतिसले लेख्नुभएको पुस्तक सहजरुपमा बुझ्न सकिन्छ। एमेजनमा किन्न सकिने सो पुस्तक हजारौं प्रति बिक्री भइसकेको छ। सतिस अहिले डे ट्रेडिङबारे अर्को पुस्तक लेख्दै हुनुहुन्छ। ‘यो ग्रुपमा आइसकेपछि सवैको उत्साह देखेर म त्यो बुकलाई नेपालीमा पनि ट्रान्सलेट गर्देछु,’सतिस उत्साह देखाउनु हुन्छ। 

प्रकाशित मिति: : 2021-02-22 22:23:00

प्रतिकृया दिनुहोस्