नेपालमा संसद पुनर्स्थापना, अमेरिकाका नेपालीमा खुशीयाली : कहिले फर्केलान् खतिवडा ?

डा. प्रदीप भट्टराई

वासिङ्टन डीसी, अमेरिका

नेपालमा संसद पुनर्स्थापना हुने निर्णयले अमेरिकामा रहेको नेपाली डायस्पोरामा खुशीयाली छाएको छ। हातका औलामा गन्न सकिने खड्गप्रसादका डाइ-हार्ट फ्यान, उनको दुष्कर्मबाट राजा फर्किहाल्लान् कि भनेर आशा गरेका केही राजावादी अनि हुलाकमार्फत् ओहोदाको प्रमाणपत्र पेस गरेर मान्यता पाएको खुशीयाली सोमबार मात्र बाँड्न पाएका अमेरिकाका लागि नेपाली राजदूत डा. युवराज खतिवडा र उनको परिवारलाई अपवादमा राख्ने हो भने बाँकि नेपाली खुशी देखिएका छन्। त्यसको पहिलो प्रमाण सामाजिक सञ्जालमा छचल्किएको छ।

अमेरिकामा ट्रम्पको हुकुमी शासनबाट मुक्त हुन नपाउँदै नेपालमा खड्गप्रसादको सनक शासन सुरू भएकोमा उनीहरू दु:खी थिए। घरदेशमा हुन् या परदेशमा जहाँ रहेका भए पनि सभ्य नेपालीहरू व्यक्तिको सनक र लहडमा चल्ने हैन, २१औं शताव्दीको मानकअनुसार विधिको शासन चाहन्छन्। यसबाट बढ्ने आफ्नो देशको इज्जत प्रतिष्ठासँगै आफू पनि सभ्य र लोकतान्त्रिक मुलुकको नागरिक भएको सुनाउन पाउँदा गौरवको महसुस गर्छन्।

ट्रम्पेरिका हुँदाको अपवादलाई छोडेर संसारकै नमूना प्रजातन्त्रको अभ्यास गरिरहेको अमेरिकामा रहेका अधिकांश नेपालीलाई रोम पुगेपछि रोमनजस्तै गर्नुपर्छ भन्ने राम्ररी थाहा छ। नातापाता, स्वार्थलगायतले घेरिएको भुइँमा टेकेर त्यही प्रोक्सिमिटीको आधारमा धारणा बनाउने अपवाद र असामान्य (एब्नर्मल) नेपाली अमेरिकाको नेपाली डायस्पोरामा पनि नहुने भन्ने कुरा हुँदैन।

नेपालमा संसद पुनर्स्थापना भएपछि अब नेपालमा के होला ? अनेकौ प्रश्नहरू फालिम लागेका छन्। जस्तो कि, खड्गप्रसाद र विद्यादेवीले नैतिक रूपमा राजीनामा देलान् कि नदेलान्? खड्गप्रसाद र विद्यादेवीले १३ दिनभित्र संसदको अधिवेशन बोलाउलान् कि नबोलाउलान्? त्यसअघि खड्गप्रसाद र विद्यादेवीले आफूलाई पायकपर्ने अध्यादेश जारी गर्लान् कि नगर्लान्? अबको सरकार कस कसको बन्ला? खड्गप्रसाद र शेरबहादुरको गठजोड निरन्तर रहला कि नरला? कांग्रेसमा कुन पक्षको पल्ला भारी रहला? खड्गप्रसादको सनकलाई साथ दिएर पद साटेका पदलोलुपहरूको गतिविधि के हुन्छ?

अब सत्तारूढ नेकपा कुन रूपमा रहन्छ? निर्वाचन आयोगले खड्गप्रसादको हुकुम मात्र तामेली गर्ला कि अब आफ्नो संवैधानिक दायित्व पनि निस्पक्ष रूपमा निर्वाह गर्ला ? संवैधानिक परिषदले गरेको निर्णय र त्यसको आधारमा भर्ना गरिएका अख्तियारलगायतका संवैधानिक आयोगका नियुक्तिहरू के होलान्? संसद विघटन गरेर चुनावको घोषणा गरिसकेपछि पनि सयौको संख्यामा गरिएका नियुक्तिहरू के होलान्? अझ अगाडि बढेर नागरिक समाजले उठाएका मुद्दाहरूको कसरी र कुन रूपमा सम्बोधन होला?

अमेरिकाको नेपाली डायस्पोरामा रहेका हरेक नेपाली खड्गप्रसादका 'प्यादा' का रूपमा परिचित युवराज खतिवडालाई वासिङटन डीसीमा नेपाली राजदूत भएर चन्द्रसूर्यअंकित झण्डा फर्फराएर ओहोरदोहोर गरेको देख्न चाहदैनन् । उनीहरूका लागि त्यो चस्का दिइरहने घाउजस्तो हुन्छ।

खड्गप्रसादले पुस ५ गते गरेको 'कु'पछिको आन्दोलनका क्रममा आन्दोलनकारी नेताहरूले धेरै ठूला कुरा बोलेका छन् जस्तो कि खड्गप्रसादविरूद्ध अविश्वासको प्रस्ताव लगिन्छ, विद्यादेवीलाई महाअभियोग लगाइन्छ। खड्गप्रसादले गरेका सवै नियुक्तिहरू बदर हुन्छन्। व्यक्तिभन्दा विधि स्थापित हुने गरी पार्टीको व्यवस्थापन हुन्छ।

अमेरिकाको नेपाली डायस्पोरा घरदेशमा घनिभूत भएका यी सबै प्रश्नहरूको उचित समाधान होस् र मुलुकले खड्गप्रसादहरूबाट सदाका लागि मुक्ति पाओस् भन्ने चाहन्छ।

उनीहरूका लागि घरदेशसँग सम्बन्धित प्रश्न मात्र छैनन्, आफू बसेको परदेशका बारेमा पनि केही प्रश्न बाँकि छन्। खड्गप्रसादको गुलामी गरेकै भरमा अमेरिकाका लागि नेपाली राजदूत हुन हतार हतार वासिङ्टन डी सी आइपुगेका डा. युवराज खतिवडालाई फिर्ता बोलाइन्छ कि बोलाइदैन?, उनीहरू चाहन्छन्, देशको राजनीतिक अवस्था अत्यन्त तरल अवस्थामा रहेको बेला एक असंवैधानिक कदम चाल्ने सन्की खड्गप्रसादको पोष्यपुत्रका रूपमा रातारात वासिङ्टन डीसी आइपुगेका युवराजले नैतिक रूपमा राजीनामा दिनुपर्छ र फर्कनु पर्छ । यदि उनी त्यसो गर्दैनन् भने अब बन्ने सरकारले उनलाई तुरून्तै फिर्ता बोलाउनुपर्छ। किनकि, उनी यहाँ खड्गप्रसादको राजदूत भएर आएका हुन् नेपालको भन्दा पनि। जब उनी जसको कोटामा र जसका लागि राजदूत भएर आएका हुन् उनै खड्गप्रसाद असंवैधानिक काम गरेबापत दण्डित भसकेपछि त्यही ओहोदामा बस्ने कुरै आउँदैन। उनको नामको अगाडि भएको डाक्टरको इज्जत राख्न पनि उनले राजीनामा दिनुको बिकल्प छैन।

तर, नैतिकताको खडेरी परेको यो बेला खतिवडाबाट त्यो किसिमको अपेक्षा गरिहाल्न सकिने अवस्था छैन। किनकि, उनी पदबिना बस्नै नसक्ने र त्यसका लागि जे पनि गर्न सक्ने 'बाँच्ने कला' भएका मानिस हुन् ।

जे होस् अपवाद बाहेक अमेरिकाको नेपाली डायस्पोरामा रहेका हरेक नेपाली खड्गप्रसादका 'प्यादा' का रूपमा परिचित युवराज खतिवडालाई वासिङटन डीसीमा नेपाली राजदूत भएर चन्द्र-सूर्यअंकित झण्डा फर्फराएर ओहोरदोहोर गरेको देख्न चाहदैनन्। उनीहरूका लागि त्यो चस्का दिइरहने घाउजस्तो हुन्छ।

 

प्रकाशित मिति: : 2021-02-23 21:32:00

प्रतिकृया दिनुहोस्