‘म बिग्रेर हिँडेकी छुइनँ, आफ्नो बाटोमा हिँडिरहेकी छु’(भिडियो)

समृद्धी पोखरेल (रिया) कक्षा १२ मा पढ्दै थिइन् काठमाडौंको नयाँ बानेश्वरस्थित एक कलेजमा। त्यसै बेला उनलाई ‘मोडलिङ’ को प्रस्ताव आयो।

सुन्दर अनुहार र आकर्षक जिउडालका कारण उनलाई परिचित दाइले ‘मोडलिङ’ का लागि ‘अफर’  गरेका थिए तर उनलाई मोडल बन्न खासै रुचि थिएन।

बोल्न धक मान्ने र लजाउने उनको स्वभाव थियो। त्यसैले उनी आफूलाई प्रायः बन्द कोठामा राख्न रुचाउँथिन्। घरमा आएका पाहुनासँग बोल्नसमेत धक लाग्थ्यो उनलाई। ‘मलाई केही कुरा पो सोध्लान् कि भन्ने सोचले डर लागेर आउँथ्यो’, उनले भनिन्।

त्यसैले उनी मानिससँग कुराकानी गर्नभन्दा पढ्नमा ध्यान दिन्थिन् तर उनलाई ती दाइले मोडलिङ गर्न कर गरेपछि स्वीकार गरिन्। उनले भनिन्, ‘दाइको मान राख्न र नयाँ कुरा सिक्न मोडलिङ गर्न सहमति जनाएँ।’

त्यसपछि उनले मोडलिङ सिक्ने विचार गरिन्। पहिलो पटक मोडलिङ सिक्न उनी नयाँ बानेश्वरको एक इन्स्टिच्युट गएको उनले अझै बिर्सेकी छैनन्।

त्यसबेला मोडलिङमा ‘करियर’ सुरु गर्न १५ हजार रुपैयाँ बुझाउनुपथ्र्याे तर उनले त्यो शुल्क तिर्नु परेन। दाइले मोडलिङमा ‘लञ्ज’ गराइएको थियो।

मोडलिङमा ‘करियर’ बनाउने त्यस्ता मानिस पनि देखिन्, जोसँग पैसाको अभाव थियो। ‘जसले पैसा तिर्न सकेका थिएनन् उनीहरुले पनि अरुसँग सापट लिएर सिक्न इच्छा गर्दै थिए’, उनले भनिन्, ‘मलाई लागेको थियो कि मानिस यो फिल्डमा आउन पैसा नभए पनि हार मान्दा रहेनछन्।’ 

त्यो दृश्य देखेर उनलाई मोडलिङप्रति उत्साह जाग्यो। उनले भनिन्, ‘मोडलिङ गर्नैपर्ने रहेछ जस्तो महसुस भयो। मोडल बनेर चिनिने सोच आयो।’

त्यसैले उनी एक महिनाको तालिममा सहभागी भइन्। तालिमकै सिलसिलामा उनलाई पहिलो पटक ‘वाक गर्न’ लगाइयो। त्यतिखेर आफू निक्कै ‘नर्भस’ भएको उनले सुनाइन्। 

‘सुरुमा वाक गर्दा निक्कै गाह्रो भयोे, डर त धेरै लागेको थियो’ मोडलिङ करियर सुरु गर्दा आफूले भोगेकोे अनुभव सुनाइन्, ‘मैले हिँडेको हुँदैन होला, लड्छु कि जस्तो लागेको थियो।’

तर, उनले सोचेभन्दा फरक भयो। उनको प्रदर्शन सबैले मन पराए। उनले ‘जर्ज’ बाट खुब प्रशंसा पाइन्। जसबाट उनलाई थप हौसला बढ्दै गयो। उनले सो ट्रेनिङमा धेरै कुरा सिक्ने अवसर पाएकी थिइन्। महिना दिनको तालिम सकिँदा अरुसँग निर्धक्क बोल्न सक्ने भइसकेकी थिइन्।

‘जोसँग पनि कुराकानी गर्नसक्ने भइसकेकी थिए। मैले पहिलेको डरलाई नियन्त्रण गर्न सकेकी थिए’, उनले बताइन्।
मोडल करियर सुरु गरेपछि उनलाई विभिन्न उत्पादनका विज्ञापनमा ‘मोडलिङ’ को प्रस्ताव आउन थाल्यो। ‘अफर आउँदा निक्कै खुशी थिएँ,’ उनले बिएल नेपाली सेवासँग भनिन्, ‘अनि मोडल हुन्छु भन्ने कुरामा ढुक्क भएँ।’

पहिले मान्छेको अगाडि बोल्न अक्मकाउने उनमा बोल्नमा आत्मविश्वास बढ्दै गयो। नयाँ प्रस्तावहरु पनि आएकै आएकै थिए। 
सुरुमा ‘मोडलिङ’ मा लाग्दा परिवारको समेत साथ नपाएको उनले बताइन्।

‘छोरीलाई बढी खुला छोड्नुहुँदैन् भन्दै रोक्नुहुन्थ्यो’, उनले भनिन्, ‘परिवारले छोरी मान्छे मोडलिङ फिल्डमा गयो भने बिग्रिन्छ भन्दै मलाई नै सम्झाउनु हुन्थ्यो।’ 

तर, आफूले त्यो कुरालाई गलत सावित गरेको उनले बताउँछिन्। ‘हाम्रो समाजमा पनि मोडललाई राम्रो मान्दैनन् तर मैलै त्यसलाई झुठो सावित गरेँ’ उनले भनिन्,  ‘म बिग्रेर हिँडेकी छुइनँ, आफ्नो बाटोमा हिँडिरहेकी छु।’ 

आफूले मिहिनेत गरेर कमाउनुमा कुनै लज्जाबोध नहुने उनी बताउँछिन्। ‘कामको प्रस्ताव नआउने पो हो कि भनेर निक्कै चिन्ता लागेको थियो’, उनले भनिन्, ‘मेरो सोच गलत भयो, मैले अफर निरन्तर पाइरहेँ।’ 

रियाको मोडलिङमा करियर बनाएको पाँच वर्ष भयो। १९ वर्षको उमेरमा मोडल बन्नका लागि हिँडेकी उनलाई साथ नदिने उनका मातापिता समेतले हाल उनलाई ‘सपोर्ट’ गरिरहेको उनी बताउँछिन्।

 नेपाली ‘म्युजिक भिडियो’ मा खेल्न प्रस्ताव आएको तर आफूले नै बेवास्था गरेको उनी सुनाउँछिन्। ‘मलाई भिडियो खेल्नमा कुनै चासो छैन् तर नेपाली फिल्ममा पनि अफर आइरहेको छ, हेरौँ अब के हुन्छ’, उनले भनिन्, ‘त्यो बारेमा सोचिरहेकी छु।’

उनकोे सपना मात्र आफनो पेशालाई ध्यान दिने नभई अरु काम गर्ने पनि छ। पैसा कमाउन यो फिल्ड उपयुक्त नरहेको उनले बताइन्। ‘आफूलाई चिनाउन र आफूभित्रको कन्फिडेन्स लेबल बढाउनका लागि यो फिल्ड राम्रो छ तर पैसा कमाउनको लागि अरु नै काम गर्नुपर्छ’, उनले भनिन्।

उनले हालै बिबिएस पूरा गरेकी छिन्। अबको उनको चाहना भनेको यस फिल्डबाहेक अरुमा पनि काम गरेर कमाउने हो।

आफू मोडल भएकाले उनी अरु मोडल बन्नेहरुका लागि सहयोगी बन्न चाहन्छिन्। ‘म यस फिल्डमा आउन चाहनेहरुलाई सहयोग गर्न चाहन्छु। जो आफ्ना परिवारका कारण बञ्चित भएका छन्’, उनले भनिन्। उनी आजकाल मोडलिङ गर्न ईच्छुकलाई सहयोग गदैछिन्।

प्रकाशित मिति: : 2021-02-24 13:48:00

प्रतिकृया दिनुहोस्