नेवा संस्कृति र परम्परा नेपालको अमूल्य नीधि हो : मुख्यमन्त्री पौडेल

Dormani Poudel

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेवा संस्कृति र परम्परा नेपालको अमूल्य नीधि रहेको बताएका छन्। 

नेवा गुठी खल मकवानपुरको वार्षिक साधारणसभालाई आज हेटौंडामा सम्वोद्धन गर्दै उहाँले नेवारी परम्पराको संरक्षण र संवद्र्धन गर्दै आफ्नो पहिचान जोगाउन गुठीहरुको भूमिका महत्वपूर्ण रहेको बताएका हुन्। 

मुख्यमन्त्री पौडेलले नेवा गुठीले निर्माण गर्न लागेको शंखधर साख्वा उद्यानको सफलताको कामना गर्दै हरेक परियोजना सफल बनाउन निरन्तर सक्रियताको आवश्यकता पर्ने बताए। 

उनले उक्त उद्यान निर्माणका लागि प्रदेश सरकारले तत्काल रु १० लाख बजेटको व्यवस्था गरेको र आगामी वर्षमा पनि यसमा रकम थप गर्दैजाने प्रतिबद्धता व्यक्त गरे। 

उनले हेटौँडामा रहेका निजी क्षेत्रबाट निर्मित तीन महत्वपूर्ण पर्यटकीय स्थलको उदाहरण दिँदै ती निरन्तरको सक्रियता र लगनशीलताका कारण चर्चित पर्यटकीय उद्यान बनेको धारणा राखे। 

हेटौँडाको शहीद स्मारक, कुष्माण्डा सरोबर र हर्नामाडी कला प्रतिष्ठानको गुम्बा डाडा स्वदेशी तथा विदेशी पर्यटकहरुको आकर्षक गन्तव्य बन्दै गएको बताउँदै उनले बीसौं वर्षको लगानशीलता र प्रतिबद्धताका कारण ती स्थल पर्यटकीयस्थलमा परिणत भएकाले त्यस्तै प्रतिबद्धता भए मात्रै उद्यान निर्माण कार्य सफल हुने विश्वास व्यक्त गरे। 

मुख्यमन्त्री पौडेलले शंखधर साख्वा उद्यानलाई नेवार समुदायको संस्कृति झल्किने गरी निर्माण गरेर नेवारी संस्कृतिको अध्ययन केन्द्रको रुपमा विकास गर्न सकिने धारणा व्यक्त गरे। 

यसैबीच, नेवा गुठी खल मकवानपुरले बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठलाई सम्मान गरेको छ। नेवार समुदायबाट राजनीतिक क्षेत्रमा लागि सफलता प्राप्त गर्नु भइ नेवारी समुदायको गौरव बढाएको भन्दै श्रेष्ठलाई सम्मान गरिएको नेवा गुठी खलले जनाएको छ। रासस 

प्रकाशित मिति: : 2021-02-27 21:06:00

प्रतिकृया दिनुहोस्