उपमहानगरपालिका मातहतमा खानेपानी

बिएल संवाददाता

काठमाडाै‌ं
Clickmandu

धरानमा खानेपानी वितरण गर्दै आएको खानेपानी संस्थानको शाखालाई धरान उपमहानगरको खानेपानी व्यवस्थापन बोर्डमा गाभिएको छ। 

उपमहानगरपालिका तथा बोर्डले संस्थानको जिम्मा लिएको सार्वजनिक नगरिए पनि सोमबारदेखि मर्ज गरिएको बोेर्डले जनाएको छ। 

बोर्डका कार्यकारी निर्देशक राजु पोखरेलका अनुसार संस्थानको सम्पत्ति, दायित्वलाई बोर्डमा हस्तान्तरण गरिएको छ।

गाभिएका विषयमा उपमहानगरपालिकाले पत्रकार सम्मेलन गरेर नगरवासीलाई जानकारी गराउने तयारी भएको निर्देशक पोखरेलले जानकारी दिए। 

संस्थानका कुन कुन कर्मचारी बोर्डमा रहने र कोको संस्थामै फर्कने भन्ने कर्मचारीलाई रोज्न लगाइएको बताइएको छ। 

यसअघि ४३  कर्मचारी बोर्डमा रहन इच्छुक भएका थिए। सोही अनुसार नामको सूची बोर्डमा पठाइएको थियो। 

पछिल्लो समय संस्थान जिम्मा लिएर बोर्डमा मर्ज नगरेको भन्दै कार्यपालिका बैठक र गएको नगरसभाको उद्घाटनको दिन चर्र्को विरोध भएपछि सभा नै स्थगित भएको थियो।

यसपछि नगरप्रमुखलाई संस्थानको सम्पत्ति तथा दायित्व छिटो जिम्मा लिन दबाबमा परेका थिए।  

जनप्रतिनिधिले आठौं नगरसभा रोक्ने गरी विरोधमा उत्रिएपछि फागुन २१ गतेभित्रै संस्थान जिम्मा लिएर मर्ज गर्ने र एकद्वार प्रणालीबाट पानी खुवाउने प्रतिबद्धता उनले जनाएअनुसार मर्ज गरिएको हो। रासस

प्रकाशित मिति: : 2021-03-02 12:45:00

प्रतिकृया दिनुहोस्