राष्ट्रिय सभा गृहमा गुञ्जियो नारा–‘विप्लव आउ, देश बचाउ’ 

सरकारले दुई वर्षअघि प्रतिबन्ध लगाएको विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेपछि आज काठमाडौंको भृकुटी मण्डपस्थित राष्ट्रिय सभा गृहमा वार्ता हुँदैछ।

निर्धारित समयअनुसार दिउँसो २ बजेदेखि कार्यक्रम सुरु हुने भनिए पनि केही समय लाग्ने देखिएको छ।

दुई वर्षअघि सरकारले विप्लव समूहको राजनीतिक गतिविधिमा प्रतिबन्ध लगाएपछि भूमिगत भएका नेता तथा कार्यकताहरू यतिबेला धमाधम वार्तास्थल पुगिरहेका छन्।

विप्लव समूहका कार्यकर्ताले सभा गृह वरिपरि ‘विप्लव आउ, देश बचाउ’ को नारा लगाइरहेका छन्।

यस्तै, कार्यकर्ताले ‘एकीकृत जनक्रान्ति जिन्दावाद’, ‘हाम्रो आन्दोलन जारी छ’, ‘झुटा मुद्धा खारेज गर’, ‘वीर सहिद लाल सलाम’ भन्दै रातो ड्रेसमा सजिएका कार्यकर्ताको भिडले सभा गृह वरिपरि नारा जुलुस गरिरहेका छन्।

प्रकाशित मिति: : 2021-03-05 13:58:00

प्रतिकृया दिनुहोस्