अमेरिकामा नहुने भयो घण्टाको १५ डलर न्युनतम ज्याला, बाइडनलाई सिनेटको झड्का

डा. प्रदीप भट्टराई

वासिङ्टन डीसी

अमेरिकामा घण्टाको १५  डलर न्युनतम ज्याला बनाउने प्रयास संसदको माथिल्लो सदन सिनेटले विफल बनाइदिएको छ।

प्रगतिशील कित्ताका सिनेटर बर्नी स्याण्डर्सले प्रस्तुत गरेको संशोधन प्रस्ताव डेमोक्रेटिक पार्टीकै ८ दक्षिणपन्थी सिनेटरले विफल बनाइदिएका हुन्। विफल बनाउन प्रस्तावको विपक्षमा मतदानमा गर्नेमा मान्चिन, टेस्टर, कुन्स, सिनेमा, किङ्, साहिन, हसन र कार्पर रहेका थिए। 

अव यो प्रस्ताव कोभिड १९ राहतका लागि आउने १.९ ट्रिलियन डलरको विधेयकको हिस्सा बनेर अनुमोदन हुने छैन। यसका लागि छुट्टै प्रक्रिया अगाडि बढाउनुपर्ने हुन्छ।

यो प्रस्ताव विफल भएकोमा राष्ट्रपति बाइडनलाई पनि धक्का लागेको छ। राष्ट्रपति चुनावका क्रममा नै उनले न्युनतम ज्याला घण्टाको १५ डलर बनाउने चुनावी वाचा गरेका थिए।

प्रस्ताव विफल भएपछि ह्वाइट हाउस प्रेस सेक्रेटरी पास्कीले न्युनतम ज्याला घटाउने संवादमा ह्वाइट हाउस नरहेको स्पष्टीकरण दिएकी छिन्। राष्ट्रपति बाइडन सिनेटर स्याण्डर्सको प्रस्तावको पक्षमा दृढतापूर्वक रहेको बताउँदै यस अभियानमा लागिपरिरहने पनि उनले बताइन्।  

यसैगरी,  न्युनतम ज्याला घण्टाको १५ डलर बनाउने शंसोधन प्रस्तावका प्रस्तावक सिनेटर बर्नी स्याण्डर्सले आफ्नो प्रस्ताव तत्कालका लागि अगाडि बढ्न नसके पनि यसलाई अगाडि बढाउन लागिपरिरहने बताएका छन्। उनले अमेरिकाको संघीय न्युनतम ज्याला घण्टाको ७.२५ डलर हुनु लज्जाको विषय भएको धारणा राख्दै यसले श्रमजीवी जनतालाई भोको पेट काम गर भन्ने लाजमर्दो सन्देश दिएको बताए।

अमेरिकामा डेमोक्रेट ज्याला बढाउनुपर्ने पक्षमा रहेका छन् भने रिपब्लिकन त्यसको विपक्षमा रहदै आएका छन्। हरेक चुनावमा यो एक जल्दोबल्दो मुद्दा पनि बन्दै आएको छ। पछिल्लो चुनावमा पनि राष्ट्रपति पदका डेमोक्रेट प्रत्यासी जो बाइडनले न्युनतम ज्याला घण्टाको १५ डलर बनाउने चुनावी मुद्दा बनाएका थिए।

मुलत: यो मुद्दा डेमोक्रेटिक पार्टीभित्रको प्रगतिशील कित्ताले उठाउँदै आएको छ।त्यसको नेतृत्व बर्नी स्याण्डर्सले गर्छन्। राष्ट्रपति उम्मेद्वारका लागि निकटतम प्रतिस्पर्धी रहेका बाइडन र उनका प्रगितशील समर्थकको साथ लिन बाइडनले यो मुद्दा उठाएका थिए।  

अमेरिकामा घण्टाको १५ डलर न्युनतम ज्याला बनाउने प्रयास संसदको माथिल्लो सदन सिनेटले विफल बनाइदिएको छ। डेमोक्रेट पार्टीकै ८ सिनेटरले विपक्षमा मतदान गरेपछि प्रस्ताव विफल भएको हो। यो विफलताले राष्ट्रपति बाइडनलाई एक गम्भीर झड्का लागेको छ। 

अमेरिकी संसदको तल्लो सदनले भने न्युनतम ज्याला घण्टाको १५ डलर बनाउने पक्षमा निर्णय गरेको थियो। त्यसका लागि सबै डेमोक्रेट्सले पक्षमा मतदान गरेका थिए भने रिपब्लिकनहरूले विपक्षमा मतदान गरेका थिए।

तर, संसदको माथिल्लो सदन सिनेटमा भने डेमोक्रेटहरू एक ठाउँमा उभिन सकेनन्। एक सय सदस्यीय सिनेटमा रिपब्लिकन र डेमोक्रेट ५०-५० को आधा आधा संख्यामा रहेका छन्। सिनेटमा प्रस्ताव पारित हुन सबै डेमोक्रेट सिनेटर एक ठाउँमा भएर पनि उपराष्ट्रपति कमला ह्यारिसले टाइ ब्रेकर मत दिनुपर्ने समीकरण छ।  

रिपब्लिकन बहुल राता राज्यबाट जितेर आएका र २०२२ मा चुनावमा जानुपर्ने डेमोक्रेट सिनेटर आफ्नो निर्वाचन क्षेत्र र आगामी चुनावलाई हेरेर न्युनतम ज्याल बढाउने विपक्षमा उभिएका हुन्।

अमेरिकामा अहिले संघीय न्यूनतम ज्याला घण्टाको ७.२५ डलर रहेको छ। यसको अर्थ अमेरिकामा चेक काटेर योभन्दा कम ज्याला दिन पाइदैन। राज्य, काउन्टी, सिटीलगायतका निकायहरूले आआफ्नो हैसियतअनुसार योभन्दा बढी नै न्युनतम ज्याला लागु गरेका छन्।

 

 

प्रकाशित मिति: : 2021-03-06 01:19:00

प्रतिकृया दिनुहोस्