अक्षय कोषका लागि आर्थिक सहयोग

धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले नेपाल प्रेस युनियन डोटी शाखाले स्थापना गरेको ‘तेजु स्मृति अक्षय कोष’ स्थापनाका लागि आर्थिक सहयोग घोषणा गरेका छन्। नगर प्रमुख वडले आफ्नो जन्मदिनको अवसरमा रु ११ हजार १११ सहयोगको घोषणा गरेका हुन्।

नेपाल प्रेस युनियन डोटी शाखाका संस्थापक अध्यक्ष स्व तेजबहादुर खड्का (तेजु) को स्मृतिमा स्थापना गरिएको यस कोषका लागि विभिन्न पत्रकार तथा राजनीतिज्ञले जन्मोत्सवका अवसरमा सहयोग गर्दै आएका छन्।

हालसम्म कोष स्थापनाका लागि रु डेढ लाख बढी रकम सङ्कलन भएको शाखाका सचिव पवन महराले जानकारी दिए।प्रेस युनियनले स्व पत्रकार खड्काको स्मृतिमा अक्षयकोष स्थापना गरी सो कोषबाट राष्ट्रिय पत्रकारिता पुरस्कारको स्थापना गर्ने लक्ष्य लिएको छ।

पत्रकार खड्का बाजुराको बूढीनन्दा धार्मिक तथा पर्यटकीयस्थलको रिपोर्टिङ गरेर फर्किने क्रममा बेपत्ता हुनुभएका थिए। बेपत्ता भएका खड्काको तीन वर्षपछि मात्रै कङ्काल भेटिएको थियो। डिएनए र घटनास्थलमा भेटिएका सामग्रीको आधारमा उहाँको मृत्यु भएको पुष्टि भएको थियो। रासस

प्रकाशित मिति: : 2021-03-06 09:14:00

प्रतिकृया दिनुहोस्