सभामुखको संवेदनाहीन व्यवहार: दुई बहालवाला र १२ जना पूर्वसांसद्को मृत्यु हुँदा पनि शोकप्रस्ताव पारित नगरी सदन सञ्चालन

सभामुख अग्नि सापकोटाले वर्तमान प्रतिनिधिसभाका दुई जना सदस्यको मृत्यु भएको बेलामा समेत शोक–प्रस्ताव पारित नगरी संसद् सञ्चालन गरेका छन्।

प्रतिनिधिसभाको अघिल्लो अधिवेशन अन्त्य भएपछि नेकपा एमाले सांसद् सानु शिवा र कांग्रेसका  सूर्यबहादुर केसीको निधन भएको भए पनि सभामुख सापकोटाले प्रतिनिधिसभा बैठक चलाए। पहिलो दिनको बैठकमै शोक प्रस्ताव पारित गर्ने परम्परा भए पनि सभामुखले संसद् गलत ढंगले सञ्चालन गरेका हुन्।

समान्यतः संसद्को ‘विजनेश’ चापाचाप भएको बेला संसद्को त्यो दिनको कार्यसूचीको अन्तिममा शोकप्रस्ताव राख्ने र पारित गरेर संसद् स्थागित गर्ने परम्परा छ। शोक प्रस्ताव पारित गरेपछि त्यो दिनको सदनमा अरु विजनेश अघि बढाइँदैन। 

बहालवाला सांसद् मात्र होइन, पूर्व सांसद्को हकमा पनि त्यस्तै शोकप्रस्ताव पारित गर्ने परम्परा छ। तर, दुई जना प्रतिनिधिसभाका सदस्य र १२ जना पूर्व सांसद्को यसबीचमा मृत्यु भएको छ। १४ जनाको निधन भएकोबेला पनि शोकप्रस्ताव पारित नगरी सभामुख सापकोटाले संसद् सूचना टाँसेर स्थगित गरेका छन्।

एमालेका सांसद् भीम रावलले बोल्ने क्रममा सभामुखको योग्यतामाथि प्रश्न उठाएका थिए। उनले सभामुखको सदन सञ्चालन शैलीमाथि प्रश्न उठाए पनि प्रष्टसँग शोकप्रस्तावको कुरा उठाएर आलोचना चाहिँ गरेका थिएनन्।

प्रकाशित मिति: : 2021-03-07 19:29:00

प्रतिकृया दिनुहोस्