फेरि ईश्वर पोखरेल महासचिव, विष्णु पौडेल उपमहासचिवमा घटुवा 

सर्वोच्च अदालतको बुधवारको फैसलाले नेताहरुको शक्ति र पदीय जिम्मेवारीमा पनि हेरफेर हुने भएको छ।

 फैसलाले उपप्रधानमन्त्री ईश्वर पोखरेल पुनःमहासचिव भएका छन्। नेकपामा महासचिव रहेका अर्थमन्त्री विष्णु पौडेलको पद उपमहासचिवमा घटुवा हुने भएको छ। 

उपप्रधानमन्त्री ईश्वर पोखरेलले भने, ‘अब पार्टी केन्द्रीय कमिटीको बैठक बस्ला। त्यसैबाट कार्यान्वयन होला।’

एमाले वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल प्रचण्ड पक्षमा लागेका छन् तर कानूनतः उनीहरु दुवै एमालेका वरिष्ठ नेता भएका छन्।

त्यस्तै, कुनै पक्षमा नलागी बसेको वामदेव गौतम एमाले उपाध्यक्षमै कायम भएका छन् भने भीमबहादुर रावल र अष्टलक्ष्मी शाक्य पनि एमाले उपाध्यक्ष भएका छन्। उनीहरुको आत्मा प्रचण्डसँग जोडिएको भए पनि कानूनतः शरीर भने एमालेमै फर्कनुपर्ने भएको छ। 

त्यसै गरी, घनश्याम भुसाल एमाले उपमहासचिव बनेका छन् भने योगेश भट्टराई र गोकर्ण बिष्टको पनि एमाले सचिव बनेका छन्।

उनीहरु ०७० सालको एमालेको नवौँ महाधिवेशनका प्रतिनिधिबाट प्रत्यक्ष मतदानबाट निर्वाचित भएका पदाधिकारी हुन्। 

प्रचण्ड समूहमा लागेका करिब तीन दर्जन सांसद्को पद पनि पुन ओली नेतृत्वको एमालेमै फर्कनुपर्ने बाध्यता आइपरेको छ।

प्रकाशित मिति: : 2021-03-08 14:44:00

प्रतिकृया दिनुहोस्