शिवरात्रिमा आउँदै छ मनीषाको आवाजमा महामृत्युञ्जय मन्त्र

देशसञ्चार

काठमाडौँ

काठमाडौं- मुम्बई फिल्म उद्योगकी प्रख्यात नायिका मनीषा कोइराला अब गायिका बनेकी छिन्। उनले रेकर्ड गरेको पहिलो भजन बिहीबार शिवरात्रिको अवसरमा नेपाल र भारतमा एकसाथ रिलिज हुँदैछ। मनीषाको स्वरमा पहिलो रेकर्ड भएको यस सांगीतिक कोशेलीलाई तयार पार्ने काम प्रख्यात वाद्यवादन समूह ‘सुरसुधा’ले गरेको हो।

‘करिब तीनवर्ष पहिले मनिषाजीले एउटा संगीतवद्ध मन्त्रजप गर्ने चाहना मसँग व्यक्त गर्नुभएको थियो,’ सुरसुधालाई संयोजन गर्दैआएका तबलावादक सुरेन्द्र श्रेष्ठले भने, ‘त्यसैको परिणाममा यो भजन तयार भएको हो।’

यस बीचमा आफूले महामृत्युन्जयको मन्त्रलाई संगीतबद्ध गरेर तयार पारेको जानकारी सुरेन्द्रले दिए।

‘त्यसरी मैले संगीतवद्ध पारेको मन्त्रलाई मनीषाजीले असाध्यै मन पराउनु भयो,’ उनले भने, ‘त्यसपछि गायनको अभ्यास पनि सुरु भयो।’

यस मन्त्र गायनमा मनीषाबाहेक सुरसुधाकै गायिका सरस्वती खत्री र स्वयं सुरेन्द्र श्रेष्ठको पनि स्वर समेटिएको छ।

करिब एक महिनाको अभ्यासपछि यस भजनलाई स्टुडियोमा रेकर्ड गरिएको र त्यसपछि म्यूजिक भिडियो पनि तयार पारिएको जानकारी उनले दिए। संस्कृतिविद् सत्यमोहनजोशीले उद्घाटन गर्ने बिहीबारको समारोहमा उक्त म्यूजिक भिडियो प्रस्तुत गरिँदैछ।

मन्त्रगायनका निम्ति महामृत्युन्जयको छनौट चाहिँ मनीषा कोइरालाकी आमा सुषमा कोइरालाबाट प्राप्त सुझावका आधारमा गरिएको हो। नेपालमा केही समययता हिंसा र महाभूकम्पका कारण धेरै मानिसको मृत्यु अकालमा भएकैले त्यसरी बितेकाहरुको आत्मालाई शान्ति मिलोस् भनेर यसको चयन गरिएको थियो। त्यसैगरी यस्तो अकाल मृत्यु फेरि कसैले वरण गर्नु नपरोस् र सबैलाई स्वास्थ्यलाभ होस् भनेर पनि यसमा कामना गरिएको छ।

प्रकाशित मिति: : 2021-03-09 20:57:00

प्रतिकृया दिनुहोस्