एमाले–जसपा छलफलः माग सम्बोधनमा प्रधानमन्त्री सकारात्मक

सुभाष साह

काठमाडौं

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) र जनता समाजवादी पार्टी (जसपा) शीर्ष नेताबीच सत्ता सहकार्यका विषयमा भएको छलफल सकारात्मक मोडतर्फ अघि बढेको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको शीर्ष नेताहरूबीचको छलफल सकारात्मक रहेको नेताले बताएका छन् ।

एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष जसपा नेताहरूले आफ्ना माग राखेका थिए । जसपा नेताहरूको माग सम्बोधन गर्ने विषयमा प्रधानमन्त्री सकारात्मक रहेको र दुवै पक्षबीचको संयुक्त बैठक पुनः शुक्रबार बस्ने बताइएको छ ।

जसपा कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्णले जसपाले उठाउँदै आएका मुद्दा नै सम्बोधन गर्ने गरी छलफलमा विषय उठान गरिएको बताए । जसपाले संविधान संशोधन, जेलमा रहेका सांसद रेशम चौधरीको रिहाइ, नागरिकता विधेयकलगायतका विषय उठाउँदै आएको छ ।

यस्तै लाल आयोगले सरकारलाई बुझाएको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने मागसमेत जसपाले गर्दै आएको छ । यही माग छलफलमा उठाइएको र आफ्नो मागबारे प्रधानमन्त्री सकारात्मक रहेको कर्णले बताए ।

एमाले र राजपाका शीर्ष नेताहरूबीच छलफल सकारात्मक भएको छ, शुक्रबार पुनः छलफल जारी राख्ने सहमति भएको छ
– राजन भट्टराई, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार

‘हामीले उठाउँदै आएको माग विषय प्रधानमन्त्रीज्यू सकारात्मक हुनुहुन्छ,’ कर्णले राजधानीसँग भने भने, ‘शुक्रबार पुनः कार्यदलस्तरमा बैठक गरेर छलफल गर्ने सहमति गरिएको छ ।’

छलफलमा प्रधानमन्त्री ओली, महासचिव एवं उपप्रधानमन्त्री ईश्वर पोखरेल, उपमहासचिव एवं अर्थमन्त्री विष्णु पौडेल, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई तथा जसपा तर्फबाट अध्यक्षद्वय महन्थ ठाकुर, उपेन्द्र यादव, वरिष्ठ नेताद्वय राजेन्द्र महतो, अशोक राई, कर्णलगायतका नेता छलफलमा सहभागी थिए ।

जसपाले कर्णको नेतृत्वमा वार्ता गर्ने गरी सर्वेन्द्रनाथ शुक्ल सदस्य रहेको कार्यदल बनाएको छ । यस्तै, एमालेले संसदीय दलका उपनेता सुवास नेम्वाङ, महासचिव पौडेल, सल्लाहकार भट्टराईसहितको कार्यदल बनाएको छ ।

सर्वोच्च अदालतको फैसलासँगै एमाले र माओवादी केन्द्र पूर्ववत् अवस्थामा फर्किएपछि प्रधानमन्त्री ओलीले सरकारको पक्षमा बहुमत पु¥याउन जसपाको समर्थन खोजेका छन् । ओली सरकारलाई समर्थन गरेको माओवादी केन्द्रले समर्थन फिर्ता लिने कि नलिने भन्ने विषय अझै निर्णय गर्न सकेको छैन ।

प्रतिनिधि सभा २ सय ७५ सदस्यीय छ । सरकार गठन गर्न १३८ सांसद आवश्यक पर्छ । एमालेसँग अहिले १ सय २० सांसद मात्रै रहेका छन् । जसपासँग ३४ सांसद रहेकोमा २ जना निलम्बित छन् । माओवादीले आफ्नो समर्थन फिर्ता लिए पनि जसपाले समर्थन दिएमा सरकारलाई आवश्यक बहुमत पुग्छ ।

प्रकाशित मिति: : 2021-03-12 06:46:00

प्रतिकृया दिनुहोस्