सत्ताको रस्साकस्सी : जसपाको नजरमा एमाले नै सहज !

रातोपाटी

काठमाडौं

नयाँ सत्ता समीकरणका लागि अहिले दुई ध्रुवमा गठबन्धनको प्रयास भइरहेको छ।

एकातिर नेकपा एमालेले आफ्नै नेतृत्वमा रहेको सरकारलाई निरन्तरता दिनेगरी सत्ता साझेदारको भूमिका निर्वाह गर्ने दलको खोजी गरिरहेको छ भने अर्कोतिर काँग्रेस, नेकपा माओवादी केन्द्र र जसपा नेपालबीच गठबन्धनको प्रयास जारी छ।

यी दुवै ध्रुवका लागि जसपा नेपालको भूमिका निर्णायक हुने देखिन्छ। जसपा नेपालले जता समर्थन जनाउँछ, उतै सरकार बन्ने सम्भावना रहेकाले पनि यतिबेला जसपा नेपाल तानातानको अवस्थामा छ।

प्रतिनिधिसभाको अंक गणितमा नेकपा एमाले १२१ सिटसहित सबैभन्दा ठुलो दल छ। एमालेलाई सरकार टिकाउन वा नयाँ सरकार गठन गर्नका लागि नेपाली काँग्रेस, जसपा वा नेकपा माओवादी केन्द्रमध्ये कुनै एक दलको समर्थन आवश्यक हुन्छ।

प्रतिनिधिसभामा जसपा नेपालका ३४ सांसदमध्ये ३२ सांसद संसदीय भूमिका निर्वाहका लागि योग्य छन्। त्यसैले जसपा नेपालले समर्थन जनाएको अवस्थामा एमालेले सरकारको नेतृत्व गर्न सक्छ।

प्रकाशित मिति: : 2021-03-12 11:50:00

प्रतिकृया दिनुहोस्