ललिता निवास प्रकरण : एक वर्षदेखि फरार गच्छदारको घरमै टाँसियो म्याद

नेपाल लाइभ

काठमाडौं

बालुवाटरस्थित ललिता निवासको ११३ रोपनी जग्गा हिनामिनामा प्रकरणमा जोडिएका नेपाली कांग्रेसका उपसभापति तथा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारको घरमा म्याद टाँस गरिएको छ।

विशेष अदालत काठमाडौंले गच्छदारको घरमा फागुन २३ गते म्याद टाँसेको हो। एक वर्षदेखि म्याद तामेलीका लागि खाेज्दा खाेजी गर्दा  नभेेटिएपछि उनकाे घरमै टाँसिएकाे हाे।

तेस्रो ताकेतासम्म पनि गच्छदार अदालत उपस्थित नभएपछि म्याद टाँस गरिएको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेयले बताए।

अदालत उपस्थित हुन एक वर्षदेखि म्याद जारी गर्दा समेत गच्छदार उपस्थित नभएपछि उनको घरमै म्याद टाँस्नु परको विशेष अदालतले जनाएको छ।

गत वर्षको फागुनमा पहिलो पटक गच्छदारलाई विशेष अदालतले १५ दिनभित्र अदालतमा उपस्थित हुन निर्देशन दिएको थियो। त्यसपछि पटक-पटक उपस्थित हुन निर्देशन दिँदा समेत गच्छार उपस्थित भएका थिएनन्।

दुई पटकसम्म गच्छदारविरुद्ध विशेष अदालतले 'बेपत्ते तामेली' टाँस गरिएको थियो। बेपत्ते तामेली अभियुक्तको घर पत्ता नलगाएको अवस्थामा टाँस गर्ने गरिन्छ।

दुई पटकसम्म बेपत्ते तामेली टाँस गर्दा समेत उनी उपस्थित नभएपछि उनको घरमै गएर म्याद टाँस गरिएको हो। मोरङ जिल्ला अदालतमार्फत् गच्छदारको घरमा म्याद  टाँस गरिएको विशेषका प्रवक्ता पाण्डेयले बताए।

प्रकाशित मिति: : 2021-03-14 16:08:00

प्रतिकृया दिनुहोस्