भारतीय छोरी, नेपालकी बुहारीको नेपाली भाषा मोह

बिबिसी

काठमाडाैं

विवाह गरेर भारतका विभिन्न स्थानबाट नेपालमा आएका महिलाहरूले नेपाली भाषाको प्रशिक्षण लिन थालेका छन्।

नेपाली भाषा नजान्दा पढेलेखेका महिलाहरू घरमै सीमित हुनुपरेको र आफ्ना छोराछोरीलाई गृहकार्य गराउन समेत समस्या हुने गरेको उनीहरूको अनुभव छ।

महिलाहरूले नेपाली भाषा सिक्न चाहेको थाहा पाएपछि औतरदेयी प्रतिष्ठानले नेपालगञ्जको नारायण माविमा एक महिने नेपाली भाषा प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको हो।

जसमा एक पटकमा १८ देखि २२ जना महिला सहभागी हुने गरेका छन्।

बिहे गरेर भारतबाट नेपाल आएकी नेपालगञ्ज सदरलाइन बस्ने सपना कसौधनले भाषा प्रशिक्षण कक्षामा लेख्ने अभ्यास गरेपनि घरपरिवार र छिमेकीसँग बोल्ने अभ्यास भइरहेको बताउँछिन्।

उनी भन्छिन्, "नेपाल आएको १२ बर्षपछि यहाँको भाषा सिक्न पाउँदा धेरै खुशी लागिरहेको छ।"

"अब माइत जाँदा आमाबुवा र भाइबहिनीसँग हिन्दीमा कुरा गर्दा प्रत्येक शब्दको नेपाली अर्थ सुनाउन मन छ, अनि बडो रमाइलो हुनेछ।"

नेपाली भाषा नजान्दा आफ्नो कस्मेटिक पसलमा आएका ग्राहकसँग बोल्न अप्ठेरो भइरहेको र अब भाषा सिक्नकै लागि पनि बढी बोल्न थालेको उनले सुनाइन्।

प्रकाशित मिति: : 2021-03-15 10:11:00

प्रतिकृया दिनुहोस्