राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयनमा ल्याईदै

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम निर्देशक समितिको बैठकले उक्त कार्यक्रमका लागि प्राप्त आवेदनलाई छनोट गरी तत्काल कार्यान्वयन गर्न निर्देशन दिएको छ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा सोमबार भएको बैठकले अत्यावश्यक र प्राथमिकताका आधारमा बजेट बाँडफाँट गर्न निर्देशन दिएको हो। 

सो कार्यक्रमका लागि आह्वान गरिएको नयाँ सूचनाअनुसार आवेदन दिने विद्यालयको सङ्ख्या पाँच हजार ३९३ पुगेको छ। शिक्षा विकास तथा मानव स्रोत केन्द्रले आवेदन माग गरेअनुसार ६७७ स्थानीय तहबाट निर्णय भएका आवेदन प्राप्त भएको जनाएकोे छ।

अझै ७६ स्थानीय तहले निवेदन दिन बाँकी छ। सो कार्यक्रमका लागि रु पाँच अर्ब ५५ करोड विनियोजन गरिएको छ। बैठकले विद्यालयको भौतिक संरचना निर्माण, पूर्वाधार विकास, शौचालय, खेल सामग्री वितरणलगायत विषयमा खर्च गर्ने गरी योजना तयारी गर्ने निर्णय गरेको छ।

केन्द्रका महानिर्देशक वैकुण्ठ अर्यालले आवेदनमा भवन निर्माण, कक्षाकोठा मर्मत, खेल मैदान, खेल सामग्री, कम्प्युटर तथा सूचना प्रविधिको विकास, कम्प्युटर ल्याब, सरसफाइ र खानेपानी, छात्रछात्रावासलगायतका शीर्षकमा आवेदन परेको जानकारी गराए।रासस
 

प्रकाशित मिति: : 2021-03-16 08:54:00

प्रतिकृया दिनुहोस्