के नेपालमा युरेनियमको कारोबार सम्भव छ?

नेपाल लाइभ

काठमाडौं

प्रहरीले काठमाडौंको बौद्धबाट दुई किलोग्रामभन्दा बढी 'युरेनियम' भनिएको वस्तु बरामद गरेपछि नेपालमा फेरि आणविक पदार्थको गैरकानुनी कारोबारको बहस सुरु भएको छ। युरेनियम बहुपयोगी आणविक पदार्थ हो। यो पदार्थ सन् १७८९ मा जर्मन केमिस्ट मार्टिन क्लाप्रोथले जौचिमिस्टल चाँदीको खानीबाट पिचब्लेन्ड नमुनाहरूको विश्लेषण गर्दा पत्ता लगाएका थिए।

युरेनियम पत्ता लागेको सतासी वर्षपछि सन् १८६६ मा यो पदार्थको रेडियोधर्मी गुणहरू थाहा भएको थियो। यसलाई ऊर्जाका रूपमा पनि प्रयोग गर्न सकिन्छ भनेर बीसौँ शताब्दीको मध्यतिर मात्र पत्ता लाग्यो।  यो रेडियोधर्मी पदार्थ अहिले ऊर्जा उत्पादनका साथै चिकित्सा, औद्योगिक र रक्षा क्षेत्रमा विकसित मुलुकहरूले प्रयोग गरिरहेका छन्। 

सन् १८९८ मा मेरी क्युरीले 'युरेनियम' सिरिजको 'रेडियम' पत्ता लगाएपछि यसको प्रयोग ब्राकिथेरापीमा हुन्थ्यो।  तर, मानवनिर्मित रेडियो आइसोटोपहरू जस्तै: कोबाल्ट, आयोडिन, इरिडियम, सिजियम आदि पत्ता लागिसकेपछि  गामा-उर्जा, हाफ-लाइफ जस्ता गुणको कारण  यिनीहरूको प्रयोगबाट ब्राकिथेरापी हुन छाडेको हो। तर, युरेनियमको प्रयोग उर्जा क्षेत्र जस्तै, विद्युत् उत्पादन गर्न र शक्तिराष्ट्रहरूले आणविक हतियार बनाउन प्रयोग गरिरहेका छन्। उद्योग क्षेत्रमा भने 'न्युक्लियर रियाक्टर'हरूबाट अरू उपयोगी रेडियो आइसोटोपहरू निर्माण गर्न प्रयोग हुन्छ।

त्यस्तै, हेलिकप्टर तथा हवाईजहाजमा आयोनाइजिङ विकिरणबाट बचाउन ढालको रूपमा पनि युरेनियम प्रयोग हुन्छ। 

प्रकाशित मिति: : 2021-03-17 07:43:00

प्रतिकृया दिनुहोस्