तनहुँमा पाँच सय गणक, सय सुपरीवेक्षक परिचालन गरिने

राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क सङ्कलनका लागि तनहुँमा पाँचसय गणक र सय सुपरीवेक्षक परिचालन गरिने भएको छ। जिल्ला जनगणना कार्यालय तनहुँले आज पत्रकार सम्मेलन गरी सो कुराको जानकारी दिएको हो।

विसं २०७८ को जेठ र असार महीनामा हुने सो गणना नेपालको जनगणनाको इतिहासमा ११० वर्षमा गर्न लागिएको बाह्रौँ शृङ्खला हो।

जनगणना अधिकारी नन्दलाल सापकोटाले स्थानीय तहका जनशक्तिलाई प्राथमिकता दिएर गणक र सुपरीवेक्षकलाई करारमा राख्ने योजना रहेको बताए। 

उनले भने, 'आगामी १० वर्षलाई नेतृत्व गर्ने भएकाले सही सूचना सङ्कलनमा जोड दिइएको छ।' समावेशी सहभागिताका लागि महिला र पुरुष दुवैलाई स्थान दिइएको छ। महिलाको हकमा ४५ वर्ष उमेर ननाघेको हुनुपर्ने छ। 

पहिलो चरणमा सुपरीवेक्षकद्वारा प्रत्येक घर तथा घरपरिवारमा पुगेर घर तथा घरपरिवारका् विवरण लिइन्छ। पुरुष, महिला र अन्य लिङ्गी तथा परिवारको कृषिसम्बन्धी विवरण सङ्कलन गरिने छ। 

दोस्रो चरणमा गणकद्वारा प्रत्येक घरधुरीमा पुगेर मुख्य प्रश्नावलीमार्फत पारिवारिक विवरण तथा व्यक्तिको जन्म, मृत्यु बसाइँसराइलगायत विवरण सङ्कलन गरिनेछ। 

दोस्रो चरणअन्तर्गत नै सबै स्थानीय तहका प्रत्येक वडा कार्यालयबाट वडास्तरीय सामुदायिक प्रश्नावलीमार्फत वडाको आधारभूत स्रोतसाधन, पहुँच, क्षमता पूर्वाधार र विपद्सम्बन्धी विवरण सङ्कलन गरिनेछ। 

घर तथा घरपरिवार सूचीकरण फाराम ०७८ वैशाख २६ देखि जेठ १४ र मुख्य प्रश्नावली ०७८ जेठ २५ देखि असार ८ गतेसम्म विवरण भर्ने व्यवस्था रहेको छ। 

प्रमुख जिल्ला अधिकारी सागर आचार्यले यस कार्यलाई सफल बनाउनका लागि सबै निकायबाट अनुगमन तथा खबरदारी गर्नुपर्नेमा जोड दिए। रासस 

प्रकाशित मिति: : 2021-03-18 20:41:00

प्रतिकृया दिनुहोस्