शेखर गोल्छा भन्छन् : वार्षिक चार रोजगारी सिर्जना गर्छाैं

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले वार्षिक चार रोजगारी सिर्जना गरिने बताएका छन्।

बाँकेको कोहलपुरमा आयोजित प्रदेश स्तरीय कार्यशालामा उनले उद्योग वाणिज्य महासंघले वार्षिक चार लाख रोजगारी सिर्जना गर्ने लक्ष्य रहेको बताएका हुन्।

महासंघले निर्माण  गरिरहेको ‘नेपाल आर्थिक रुपान्तरण मार्गचित्र–२०३०’ मा वर्षेनी चार लाखका दरले १० वर्षमा २२ लाख रोजगारी सिर्जना गर्ने महत्वाकांक्षी योजना निर्माण गरिएको छ।

उक्त मार्गचित्र बारे अहिले प्रदेश स्तरमा कार्यशाला आयोजना भइरहेका छन्।

यसअघि गण्डकी र बागमतीमा पनि कार्यशाला आयोजना गरिएको थियो। सोही अनुसार सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेश स्तरीय कार्यशाला कोहलपुरस्थित होटल सेन्ट्रल प्लाजामा सम्पन्न भएको हो।

‘सम्मानित निजी क्षेत्र, सम्मुनत नेपाल’ भन्ने मूल नाराका साथ महासंघले देशभरका उद्योगी तथा व्यवसायीहरुसँग छलफल तथा कार्यशालालाई तिव्रता दिइरहेको  छ।

नेपालमा उद्योगले क्षेत्रले २६.१ प्रतिशत हिस्सा ओगटेको हो। कृषि क्षेत्रले कुल जनसंख्यामा ६४.४० प्रतिशत रोजगारी प्रदान गरेको छ। कृषि क्षेत्रको औसत आर्थिक वृद्धि ३.११ प्रतिशत रहेको छ।

अर्थतन्त्रमा उद्योग क्षेत्रले १४.२८ प्रतिशत हिस्सा ओगटेको छ। १३.७९ प्रतिशत रोजगारी  प्रदान गरिरहेको छ। भने औसत आर्थिक वृद्धि ४.२२ प्रतिशत रहेको छ।

यसैगरी सेवा क्षेत्रले नेपालमा सबैभन्दा बढी अर्थतन्त्रमा ६०.२० प्रतिशत हिस्सा ओगटेको छ। २०.५० प्रतिशत रोजगारी सिर्जना गरेको छ। सेवा क्षेत्रको औसत आर्थिक वृद्धि भने ४.६५ प्रतिशत रहेको छ। उक्त मार्गचित्रमा तीन वटा दूरदृष्टि समेत   निर्माण गरिएको छ।

उक्त दूरदृष्टिमा दोहोरो अंकको  आर्थिक वृद्धिदरलाई प्राथमिकता दिइएको छ। दोहोरो अंकको आर्थिक वृद्धिमार्फत सन २०३० सम्म नेपाललाई १ सय अर्ब डलरको अर्थतन्त्र भएको मुलुक बनाइने उल्लेख छ।

वार्षिक चार लाख रोजगारी सिर्जना गर्ने लक्ष्य लिएको महासंघले सन २०३० सम्ममा दीगो उच्च आर्थिक बृद्धि मार्फत अतिरिक्त २२ लाख रोजगारी सिर्जना गर्ने जनाएको छ। यसैगरी आत्मनिर्भर र उद्यमशिल अर्थतन्त्र बनाएर सन २०३० सम्ममा लगानी अभिवृद्धि गरि व्यापारमा निर्यातको हिस्सा बढाइ व्यापार घाटा कम गर्ने रहेको छ।

उक्त अवसरमा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले महासंघले ग्रामीण तथा अविकसित क्षेत्रका व्यवसायीहरुलाई प्राथमिकतामा राखेर काम भइरहेको जानकारी दिए।

अहिले देशमा कुल ६५ प्रतिशत रोजगारी निजी क्षेत्रले सिर्जना गरेको छ। नेपाल आर्थिक रुपान्तरण मार्गचित्र–२०३०’ महासंघको साधारण सभाको अवसरमा परिमार्जन सहित सार्वजनिक गरिनेछ।

प्रकाशित मिति: : 2021-03-22 13:26:00

प्रतिकृया दिनुहोस्