यो लोकतन्त्रको लागि विश्वमै खराब समय हो

देशसञ्चार

काठमाडाै‌ं

बुद्धि शर्मा 

ठूला राजनीतिक परिवर्तनहरुवाट समेत जनतामा खासै उत्साह नआउने विश्वका कमै मुलुकहरुमा नेपाल पर्दछ।  झुठको निम्तो खाई पत्याउनु भन्ने उखान त्यसै चलेको होइन होला। हाम्रा नेताजीहरुले नेपालको परिवर्तनलाई विश्वले हेरिरहेको छ भन्दै जति चर्का कुरा गरेपनि अझैपनि छिमेकी मुलुकहरु भारत र चीनका बहुसंख्यक जनतालाई नेपालको राजनीतिक प्रणाली र प्रशासनिक संरचनावारे निकै कम जानकारी छ। पछिल्लो एक दशकयता विश्वभर लोकतन्त्रले खराब अवस्थाको सामना गर्दै कोभिड–१९ सम्म आईपुग्दा उदार लोकतन्त्रहरु विस्तारै अनुदार बन्दै अधिनायकवाद हावी हुँदै जाने अवस्था सिर्जना भएको छ।

अनुत्पादक दलहरु र चरम गैरजिम्मेवार राजनीतिकर्मीहरुका कारण लोकतन्त्र उत्तम व्यवस्था हुँदाहुँदै पनि सेवा प्रवाह गर्न नसकी अधिनायकवादका लागि वातावरण तयार हुदै गएको दुखदः अवस्था अधिकांश मुलुकहरुमा देखिँदैछ। प्रतिनिधिसभा विघटन र सर्वोच्च अदालतद्धारा पुनर्स्थापनासम्म आइपुग्दा आमजनतामा त्यो घटनामात्रै भन्दा पनि करिब असफल र काम गर्न नसक्ने भइसकेका दलहरु एवं मुख्य नेताहरुको प्रवृत्ति र व्यवहारले बढ्ता सकस सिर्जना गरेको देख्न सकिन्छ। यो अवस्था भनेको लोकतन्त्रले खराब स्वास्थ्यको सामना गरिरहेको छ भन्ने प्रस्ट प्रमाण हो।

पिऊ रिर्सच सेन्टरले सन् २०१९ मा गरेको अध्ययनले युरोपमा दलहरुप्रति जनताको वितृष्णा व्यापक रुपमा बढ्दै गएको देखाएको छ। फ्रान्स, इटाली, स्पेनलगायत मुलुकहरुमा त झन दलहरुले न्यूनतम सकारात्मक मतसमेत प्राप्त गर्न नसकेको उस्को अध्यनमा उल्लेख छ। विशाल लोकतन्त्र भनिँदै आएको अमेरिकामा उदार लोकतन्त्रका विश्वव्यापी मुद्दाहरु भन्दा पनि घरेलु आवश्यकताका विषयवस्तुले बढ्ता ध्यान केन्द्रित गर्दै लगेको र यो अवस्थाले शक्तिशाली सरकारको पक्षमा जनमत बढ्दै गएको राजनीतिकशास्त्रीहरुको भनाइ छ। त्यस्तै मिडियाप्रति आममानिसले निकै कम विश्वास गर्ने मुलुकमा पनि अमेरिका देखिएको छ।

प्रकाशित मिति: : 2021-03-23 17:54:00

प्रतिकृया दिनुहोस्