भारतीय कप्तान विराट कोहली एकदिवसीय क्रिकेटमा तीन नम्बरमा ब्याटिङ गर्दै १० हजार रन बनाउने दोस्रो ब्याट्सम्यान बन्न पुगेका छन्।
उनले इंग्ल्याण्डविरूद्ध दोस्रो एकदिवसीय खेलमा अर्धसतक बनाएपछि १० हजार रन पुरा गरेका हुन्। एकदिवसीयमा तीन नम्बरमा ब्याटिङ गर्दै १० हजार रन बनाउने पहिलो ब्याट्सम्यान अस्ट्रेलियाका पूर्व कप्तान रिकी पोन्टिङ हुन्।
कोहलीले दोस्रो एकदिवसीयमा ७९ बलमा ६६ रन बनाएका थिए। कोहलीले ४१ रन बनाएपछि यो कीर्तिमान राखेका हुन्। उनी तेस्रो नम्बरमा ब्याटिङ गर्दै १० हजार रन पुरा गर्ने पहिलो भारतीय ब्याट्सम्यान हुन्।
उनी एकदिवसीयमा कप्तानको भूमिकामा सबैभन्दा बढी रन बनाउने शिर्ष ५ खेलाडीमा समावेश भएका छन्। उनले दक्षिण अफ्रिकाका पूर्व कप्तान ग्रिम स्मिथको कीर्तिमानलाई भने पछि छोडे। कोहलीले ९४ एकदिवसीयमा कप्तानी गर्दै ५ हजार ४ सय ४२ रन बनाएका छन्।
स्मिथले १ सय ५० खेलमा ५ हजार ४ सय १६ रन बनाएका थिए। यो सूचीमा पोन्टिङ अगाडी छन्। उनले २ सय ३० खेलमा ८ हजार ४ सय ९७ रन बनाएका थिए। यसपछि भारतका महेन्द्रसिंह धोनीले ६ हजार ६ सय ४१ रन, न्युजिल्याण्डका स्टिफन फ्लेमिङले ६ हजार २ सय ९५ रन र श्रीलंकाका अर्जुना रणतुङ्गाले ५ हजार ६ सय ८ रन बनाएका थिए।