नेपाल विज्ञापन बोर्डका सदस्य बलराम थापाले प्रेस सङ्गठन नेपालका केन्द्रीय सदस्य नानीमाया विष्ट र सङ्गठनकै वाग्मती प्रदेशका अध्यक्ष सुनिल खड्कालाई कृष्ण सेन ‘इच्छुक’ र रुद्र पाख्रिन पत्रकारिता पुरस्कारबाट सम्मान गरेका छन्।
सङ्गठनद्वारा आज आयोजित अग्रज पत्रकार सम्मान कार्यक्रममा सदस्य थापाले उहाँहरूलाई क्रमशः रु पाँच हजारसहित प्रशंसापत्र प्रदान गरे।
त्यसैगरी जिल्लामा कार्यरत अग्रज पत्रकार र क्रियाशील पत्रकारहरू सम्मानित भएका छन्। यहाँका अग्रज पत्रकारमा क्रमशः कृष्णराम परियार, नवराज शर्मा, कमलचन्द्र सुमन, सुवर्णलाल श्रेष्ठ, प्रताप विष्ट, महेन्द्र श्रेष्ठ, कौशल पाण्डे, लोकनाथ पाण्डे, नानीमाया कार्की, मोहन साङ्गामी, भानुभक्त आचार्य र राममणि दाहाल छन्। यसैगरी क्रियाशील पत्रकारतर्फ शुभलक्ष्मी विश्वकर्मा, गणेशदर्पण अधिकारी, शिवप्रसाद चौलागाई र सरला अधिकारी सम्मानित भएका छन्।
सो अवसरमा सदस्य थापाले पत्रकार महासङ्घले मुलुकको सार्वभौम, प्रेस स्वतन्त्रता र बहुदलीय प्रजातन्त्रको संस्थागत विकासका लागि पहरेदारको रुपमा भूमिका निर्वाह गर्नुपर्ने बताए।
उनले पत्रकारका संस्थालाई राजनीति दलको छायाबाट मुक्त तुल्याउनु पर्नेमा जोड दिए। वाग्मती प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामीले राष्ट्रमा बढ्दै गएको हिंसा, अराजक र भ्रष्टाचारलाई नियन्त्रण गर्ने प्रयासतर्फ पत्रकारिता क्षेत्रको भूमिका पनि सशक्त हुनुपर्नेमा जोड दिए।
नेपाल पत्रकार महासङ्घ वाग्मती प्रदेशका अध्यक्ष प्रताप विष्ट, प्रेस सङ्गठन वाग्मतीका अध्यक्ष सुनिल खड्का, नेपाल प्रेस चौतारी वाग्मती प्रदेशका अध्यक्ष प्रकाश दाहाल, महासङ्घ मकवानपुरका अध्यक्ष हरि हुमागाईँ, नेपाल प्रेस युनियन मकवानपुरका प्रतिनिधि मणिराज गौतम, प्रेस सङ्गठन मकवानपुरका अध्यक्ष अञ्जली थापा र अग्रज पत्रकार गिरिजा अधिकारीले पत्रकारिता गर्ने संस्थाहरूले राष्ट्रको पत्रकारिता क्षेत्रको विकासको लागि आपसमा सहकार्य र समन्वय गरेर अघि बढ्नुपर्नेमा जोड दिए। रासस