कुख्यात अपराधी चाल्र्स सोभराजले जेलमुक्त भएपछि आफ्नो कहानी हलिउड चलचित्रका लागि बेच्न चाहेको बताएका छन्।
‘बिकनी किङ’ को उपनामले चर्चित सोभराजको कहानीमा आधारित भएर बीबीसीले ‘दि सेरपेन्ट’ शृंखला बनाइसकेको छ।
सोभराजले बेलायतबाट प्रकासित हुने ‘सण्डे मिरर’ सँग कुराकानी गर्ने क्रममा आफ्नो कुख्यात कहानी अमेजन कम्पनीका संस्थापक जेफ बेजोसकी पूर्वपत्नी मेकेन्जी स्कट र सर रिचर्ड ब्रान्सनसँग राख्न चाहेको बताएका छन्।
हाल नेपालको जेलमा कैदीको जीवन बिताइरहेका सोभराजले दुई सातापछि आफू जेलमुक्त हुने दावीसमेत गरेका छन्। यद्यपि उनको जेलमुक्त हुने समय सन् २०२४ बताइएको छ।
क्यानडाका दुई नागरिकलाई सन् १९७५ मा नेपालमा मारेको अभियोगमा उनी आजीवन कारावासको सजाय भोगिरहेका छन्। उनले जेलमुक्त भएपछि स्कट र ब्रान्सनसँग आफ्नो कुरा राख्ने बताएका छन्। ‘म फिल्मका लागि प्रस्ताव राख्ने छु,’ उनले भने, ‘मेरो किताब एक महिनापछि प्रकासनमा आउदै छ।’
सोभराजको आग्रह स्कट र ब्रान्सनले स्विकार गर्छन भन्ने ग्यारेन्टी छैन र उनी यसै साता छुट्छन भन्ने पनि निश्चित छैन।
उनले २००४ मा नेपालमा आफूमाथि भएको ट्रायल गैरकानुनी भएको दावी गरेका छन्।
त्यसैले संयुक्त राष्ट्र संघको मानवअधिकार समितिले आफूलाई रिलिज गर्न दबाब दिने उनको भनाई छ। तर, यस्तो सूचना हालसम्म सार्वजनिक भएको छैन।
छुटो बोल्न तथा जेलबाट झुक्याएर भाग्न खप्पीस मानिने सोभराजका अनेकन काण्ड छन्। उनी सन् २००३ मा काठमाडौंमा पक्राउ परेका थिए।