इँटा भट्टाको अनुगमन गर्दै राज्यमन्त्री विश्वकर्माले भनिन्- यो काम हामी मातहत होइन, प्रदेश सरकारलाई भन्छु 

कमल प्रभात

ललितपुर

उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री बिमला विश्वकर्माले ललितपुरको महालक्ष्मी नगरपालिकामा सञ्चालित इँटा भट्टाको अनुगमन गरेकी छन्।

आफ्नो नगरमा सञ्चालित इँटा भट्टाबाट निस्कने धुवाँको कारण अत्याधिक प्रदुषण भएको स्थानीयले गुनासो गरेपछि राज्यमन्त्री अनुगमनको लागि पुगेकी हुन्।

अनुगमनमा राज्यमन्त्री विश्वकर्मासहित उद्योग विभागका महानिर्देशक जीवलाल भुसाललगायतको टोली बुधबार महालक्ष्मी नगरपालिका पुगेका थियो।

महालक्ष्मी नगरपालिका–४ मा सञ्चालित आर.के इँटा चिम्नी र केसी इँटा भट्टाको राज्यमन्त्री विश्वकर्माले अनुगमन गरेकी हुन्।

अनुगमनपछि राज्यमन्त्री विश्वकर्माले बिएल नेपाली सेवासँग कुरा गर्दै नगरलाई प्रदुषण गर्ने किसिमले सञ्चालित भट्टालाई अन्य स्थानमा सार्न पहल गर्ने बताएकी छन्।

‘यहाँ सञ्चालित इँटा भट्टाले स्थानीयलाई धेरै असर गरेको रहेछ। यसको व्यवस्थापनको लागि छिट्टै पहल गर्ने छु’, राज्यमन्त्री विश्वकर्माले भनिन्, ‘स्थानीय स्तरमा सञ्चालितइँटा भट्टाको व्यवस्थापन प्रदेश सरकारले गर्छ। मैले प्रदेश सरकारलाई दबाव दिन्छु।’

इँटा भट्टाबाट निस्कने धुवाँको कारण महालक्ष्मी नगरपालिकाका स्थानीयवासी २ दशकदेखि आक्रान्त छन्।

त्यस्तै, राज्यमन्त्री विश्वकर्मासँग अवलोकनमा सहभागी उद्योग विभाग महानिर्देशक भुसालले सञ्चालित भट्टाको कागजात समेत जाँच गरेको बताएका छन्।

‘हामीले सञ्चालित भट्टाको कागजातसँगै अवस्थाको जाँच ग-यौं। हेर्दा यसले स्थानीयलाई असर गरेको रहेछ। यो हामी मतहत पर्दैन। प्रदेश सरकार अन्तर्गत पर्ने भएको हुँदा हामी प्रदेश सरकारसँग समन्वय गरे व्यवस्थापनको लागि अगाडी बढ्छौं,’ महानिर्देशक भुसालले भने।

अनुगमनका क्रममा स्थानीयबासीले इँटा भट्टाबाट निस्कने धुवाँले आक्रान्त भएको बताएका छन्।

‘यहाँबाट आउने धुवाँले धेरै असर गरेको छ। कहिले त श्वास फेर्न समेत गाह्रो हुन्छ। धेरै पटक भने पनि भट्टा हटाएका छैनन्। अब मन्त्री नै आएपछि त अब काम होला नी,’ स्थानीय कान्छी श्रेष्ठ र सरस्वती श्रेष्ठले भने। 

प्रकाशित मिति: : 2021-03-31 18:00:00

प्रतिकृया दिनुहोस्