हप्ताको दुई घण्टा ‘राष्ट्रका लागि स्वयंसेवा’ भन्ने नाराका साथ शुरु भएको वाग्मती सफाइ महाअभियानमा वडा र टोल सुधार समितिको सक्रियता बढ्न थालेको छ।
वाग्मती सफाइ महाअभियानको ४१२ औँ हप्तामा आज काठमाडौँ महानगरपालिका–११ स्थित रुद्रमती दोभानमा सफाइ गरिएको छ। वडा कार्यालयसमेतको सक्रियतामा विगत तीन हप्तादेखि वाग्मती र रुद्रमती दोभान क्षेत्रमा सफाइ भइरहेको छ। सफाइमा वडाका जनप्रतिनिधि, टोल सुधार समितिका पदाधिकारी एवं सदस्य र स्थानीयवासीकोसमेत सहभागिता थियो।
यसअघि नै वडाध्यक्ष हीरालाल तण्डुकार र वाग्मती सफाइ महाअभियानबीच वडा नं ११ को नदी किनारको सफाइ नेतृत्व वडा कार्यालयले नै गर्ने सहमति भएको थियो। सहमतिअनुसार वडा कार्यालयको नेतृत्वमा सफाइ शुरु भएको महाअभियानले जनाएको छ।
यस क्षेत्रको नदीमा एस्काभेटरसमेत प्रयोग गरेर सफाइ गरिएको अघिका सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य एवं अभियानकर्मी डा माला खरेलले राससलाई जानकारी दिए। सफाइमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायतको पनि सक्रियता थियो।
सफाइमा पूर्वमुख्यसचिव एवं प्रमुख सफाइ अभियानकर्मी लीलामणि पौड्याल, नेपालका लागि युरोपियन युनियनका राजदूत श्रीमती भेरोनिका कोडे, अधिकार सम्पन्न वाग्मती समितिका आयोजना प्रमुख रवीन्द्र बोहरालगायत अभियानकर्मीको सफाइमा सक्रियता थियो।