अमेरिकाका ९१ वर्षीय प्रहरी (भिडियोसहित)

संजोग आचार्य

न्युयोर्क

नेपालमा ९१ वर्ष पुगेका बृद्धहरू के गरिरहेका हुन्छन्? एकछिनलाई अन्दाज लगाउनुहोस् त! कि उनीहरू मृत्यु कुरेर बसेका हुन्छन्, नभए कान नसुन्ने र आँखा नदेख्ने रोगले थला परेर बेडमा पल्टिरहेका हुन्छन्। 
तर, अमेरिकामा एक जना यस्ता प्रहरी छन्, जसको उमेर ९१ लागिसकेको छ। अझै उनी उही जोसिलो ज्यान बोकेर नोकरीमा निस्किन्छन्। 
उनको नाम हो, बकसट स्मिथ। उनी अमेरिकाको अरकान्सस राज्यको केमडन शहरमा बसोबास गर्छन। उनी यहाँका सबैभन्दा पाको उमेरका प्रहरी हुन्। उनी साताको चार दिन ड्युटीमा निस्किन्छन्। नोकरी छोड्ने उनको अहिले पनि कुनै चाहना छैन। 
यद्यपि उनले १० वर्षअघि नै अवकाश पाइसकेका थिए। तर, अवकाशपछि पनि उनी नोकरी गर्न निस्किएका थिए, किनभने उनलाई काम गर्दा आनन्द मिल्छ। 


स्मिथ ४६ वर्ष प्रहरी सेवामा आवद्ध भएपछि रिटायर भएका थिए। तर, उनी घर बस्न सकेनन्। मुस्किलले पाँच महिना घर बसे। यसपछि सकेनन्। अझै पनि उनमा काम गर्ने भोक यथावत छ। उनी सर्वसाधारणका लागि काम गर्न चाहन्छन्। 
अवकाशको विषयमा उनलाई प्रश्न ग¥यो भने भन्छन्, ‘जुनबेला भगवानले भन्छन्, त्यतिबेला रिटायर लिउँला।’
स्मिथले जनवरी २०११ मा अवकाश पाएपछि पुनः प्रहरीको जागिर सुरु गरेका थिए। उनी अहिले पनि कार्यालयमा यो कुराको विशेष ध्यान राख्ने गर्छन, सबै नियम–कानुन अनुसार भइरहेको छ कि छैन। उनी ट्राफिकमा खटिएका, पेट्रोलिङ क्षेत्रमा बसेका तथा परेडमा उभिएका पुलिसकर्मीलाई सहयोग गर्न हिचकिचाउँदैनन्। उनी प्रहरीको गाडीमा हिँडडुल गर्दैनन् तर प्रहरी पोशाकमा सजिएर बस्छन्। उनीसँग सुरक्षाका लागि पेस्तोल पनि सँगै हुन्छ। 
शहरका मेयर जुलियन लट स्मिथलाई कुनै हतियारको आवश्यकता नपर्ने बताउँछन्। उनी भन्छन्, ‘स्मिथलाई अपराधीको बाउ–बाजेको नाम पनि कण्ठ हुन्छ।’
स्मिथ आफूलाई शहरका सर्वसाधारणले असल प्रहरी मान्नुको पछाडी बन्दुकको डर नभएको बताउँछन्। उनी भन्छन्, ‘बन्दुकभन्दा पनि मानिसको मनभित्र मेरो लागि जुन इज्जत छ, त्यसैको कारण हो।’
उनी अपराधीलाई पक्राउ गरेर केही दिनसम्म लक–अपमा राख्नुको सट्टा उनीहरूलाई उनीहरूकै घरमा लगेर समस्याको समाधान निकाल्न खोज्छन्। ‘यो कारण धेरै अपराधीको मन बदलिएको छ। अपराधीलाई सुधार्ने यो मेरो तरिका हो’, उनी भन्छन्, ‘अन्य मानिस मेरो तरिकाको विषयमा के सोच्छन्? मलाई त्यो बहसमा पर्नुछैन।’

प्रकाशित मिति: : 2021-04-05 07:41:00

प्रतिकृया दिनुहोस्