वैज्ञानिकहरु आविष्कार र अनुसन्धानतर्फ लाग्नुस् : प्रधानमन्त्री ओली

प्रधानमन्त्री एवं नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका (नास्ट) का कुलपति केपी शर्मा ओलीले वैज्ञानिकहरुलाई यथास्थितिमै सन्तोष गर्न छोडेर उल्लेखनीय फड्को मार्ने गरी आविष्कार र अनुसन्धानतर्फ लाग्न अपील गरेका छन्।

नास्टको ४४ औं प्राज्ञ सभालाई सम्बोधन गर्दै सोमबार प्रधानमन्त्री ओलीले अब नयाँ उचाइबाट वर्तमान परिस्थिति र भविष्यको सम्भावनालाई समेत ध्यानमा राख्दै विज्ञान प्रविधिमा विकास गरिनुपर्ने विचार व्यक्त गरे।

प्रधानमन्त्रीले अहिलेसम्म हाम्रो गति उत्साहहीन, संकल्पहीन, गन्तव्य नतोकिएको र अठोट नगरिएको र जे छ त्यसैमा सन्तोष लिने खालको रहेको पनि बताए। ‘सरकारमा रहनेलाई सरकारमा रहन पाए हुने भयो।

पहिले सरकारमा कसरी पुग्ने र पुगे पछि कसरी टिक्ने नीति लिने मात्र काम जस्तो भयो’ , उनको भनाई थियो।

प्रधानमन्त्रीले करिब एक सय ११ वर्षअघि दक्षिण एसियामा पहिलो पटक जलविद्युत गृह बनाउने देश अहिले पछाडि परेको उदाहरणसमेत दिए।

यसका साथै उनले वैज्ञानिकहरुलाई आफू आविष्कारक पुर्खाको सन्तान भएको नबिर्सन पनि आग्रह गरे। यसबाट प्रेरणा लिँदै देशलाई हर क्षेत्रबाट अघि बढाउन आह्वान गरे।

सभालाई सम्बोधन गर्दै शिक्षा विज्ञान तथा प्रविधि मन्त्री एवं नास्टका सहकुलपति कृष्णगोपाल श्रेष्ठले नास्टले आगामी दिनमा वैज्ञानिकहरुको वृत्ति विकासमा ध्यान दिने र देशमा वैज्ञानिक अनुसन्धानका लागि सहज वातावरण निर्माण गर्नेतर्फ अघि बढ्नुपर्ने बताए।

कार्यक्रममा बोल्दै नास्टका उपकुलपति डा. सुनीलबाबु श्रेष्ठले समृद्धिका लागि नेपाली समाजको दैनिकीसँग जोडिएका प्रविधिको विकास र विस्तारमा नास्ट क्रियाशिल रहेको बताए।

यस पटक नेपालको पहिलो भू उपग्रह नेपाली स्याट– १ सँग सम्पर्क स्थापना गर्न प्रतिष्ठानमा नियन्त्रण केन्द्र स्थापना गरिएको जानकारी  पनि उनले दिए।

निकट भविष्यमा भवन अनुसन्धान केन्द्र, अन्तरिक्ष अनुसन्धान केन्द्र तथा परम्परागत प्रविधि केन्द्र स्थापना गर्न गृहकार्य अघि बढाइएको जानकारी पनि उनले दिए।

सभाले वैज्ञानिक अनुसन्धानलाई प्रोत्साहन गराउन र प्रतिभा प्रस्फुटन गराउन विभिन्न १२ विधामा स्थापना गरेका पुरस्कारहरुको समेत निर्णय गरेको छ।

यस अनुसार डा.शेरबहादुर पुन, अनुपकुमार श्रेष्ठ, रेशमा तुलाधर, गोविन्दप्रसाद पोखरेल तथा नातिकाजी महर्जनलगायतका विज्ञान प्रविधि सम्बद्ध व्यक्तित्वहरुलाई पुरस्कृत गरिने छ।

आगामी वर्षदेखि कृषिसम्बन्धी वैज्ञानिक कार्यका लागि समेत पुरस्कार दिइने निर्णय सभाले गरेको छ।

प्रकाशित मिति: : 2021-04-05 16:53:00

प्रतिकृया दिनुहोस्