आत्मनिर्भर बन्ने बाटोमा उर्लाबारी

स्थानीय तहले लक्षित वर्गको उत्थान र विकासका लागि विभिन्न कार्यक्रमहरू अघि सार्ने गरेका छन्।

विशेषगरी महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका, दलित, अल्पसङ्ख्यक, आदिवासी जनजातिको क्षमता विकासका लागि तीनै तहका सरकारले आ–आफ्नो तबरले योजना अघि सारेर कार्यान्वयन गर्दै आएका छन्।

मोरङको उर्लाबारी नगरपालिकाले पनि लक्षित वर्गको चौतर्फी विकासका लागि विभिन्न कार्यक्रमहरू गरेपछि उनीहरू आत्मनिर्भरताको बाटोमा अघि बढेका छन्।

नगरपालिकाले नगरसभाबाट वर्षेनी ती समूहलाई आत्मनिर्भर बनाउने योजनाहरू अघि सार्दै आएको नगर प्रमुख खड्ग फागो बताउँछन्। विनियोजन गरिएको बजेटलाई दुरुपयोग हुन नदिई परिणाममुखी काम गर्न लागि परेको उनको भनाई छ।

नगरपालिकामा रहेको महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा सामाजिक विकास शाखाले लक्षित समुदायको हितमा योजना तर्जुमा गरी उत्पादनमूलक र परिणाममुखी कार्य गर्दै आएको छ।

शाखामा सीमित जनशक्तिको भरमा धेरै कार्य गर्नु परिरहेको अवस्था छ। महिला, बालिबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएकाहरूको समग्र विकासका लागि स्थापना भएको शाखामा अहिले दुई जना शाखा प्रमुख चन्द्रकला सुब्बा र विष्णुमाया रम्तेल मात्र कर्मचारी रहेका छन्।

महिला विकासका कार्यक्रम
उर्लाबारी नगरपालिकामा जम्मा जनसंख्याको ५१ प्रतिशत महिला रहेका छन्। घरधुरी सर्वेक्षण २०७६ अनुसार उर्लाबारीको जम्मा जनसंख्या ७० हजार ६ सय ५ मध्ये महिलाको संख्या ३६ हजार ९२ रहेको छ।

सबैभन्दा बढी वडा नं. १ मा ५ हजार ३ सय ८४ र सबैभन्दा कम वडा नं. ५ मा २ हजार ७ सय ८६ जना महिला रहेका छन्। नगरपालिकाले महिलाहरूलाई आत्मनिर्भर बनाउन वर्षेनी विभिन्न तालिम प्रदान गर्दै आएको छ।

नगरका टोल टोलमा महिला विकास समिति गठन गरिएको छ। नगरका ९ वडामा ७० वटा समिति गठन गरी महिला उत्थानका लागि काम भइरहेका छन्।

समितिको प्रत्येक महिना बैठक बसेर बचत संकलन तथा परिचालन गर्नुका साथै सानातिना समस्याको छलफलबाटै समाधान निकाल्ने गरिएको छ। सबै समितिले गरी गत आर्थिक वर्षसम्ममा १ करोड ७ लाख रुपैयाँ बचत संकलन र परिचालन गरेका छन्।

ती समितिहरूलाई वडा कार्यालयले पनि सहयोग पु-याउँदै आएका छन्। समूहमा आवद्ध महिलाहरूलाई उत्पादनशील कार्यका लागि सरल व्याजमा ऋण उपलब्ध गराउँदै आएका छन्।

चालु आर्थिक वर्षको बजेटबाट वडा नं. ४, ५, ६ र ७ का ३६ जना महिलालाई सिलाइ कटाई तालिम प्रदान गरिएको छ। जसमा वडाले सिफारिस गरेका विपन्न समुदायका १६ जनालाई सिलाई मेसिन प्रदान गर्ने कार्यक्रम छ।

यस्तै, वडा नं. १, २, ८ र ९ मा लघु उद्यम विकास कार्यक्रम सञ्चालन गरिएको शाखा प्रमुख चन्द्रकला सुब्बाले बताए। महिला लक्षित कार्यक्रम अन्तर्गत नै ३० जनालाई लेवल दुईको तीन महिने ब्युटी पार्लर तालिम प्रदान गरिएको छ।

यस्तै, वडा नं. १ मा २० जनालाई बाती बनाउने तालिम, वडा नं. ३ मा २० जनालाई तरकारी खेती तथा वडा नं. ८ र ९ मा २० जनालाई परालको जुत्ता बनाउने तालिम प्रदान गरिएको र ती समूहलाई बिउ पूँजीको रुपमा प्रतिसमूह ६० हजार रुपैयाँ प्रदान गरिएको छ।

महिलाहरूलाई आत्मनिर्भर बनाउन वडा तहमा विनियोजित बजेटबाट पनि विभिन्न कार्यक्रम भएका छन्। वडा नं. ५ मा सुत्केरी पोषण कार्यक्रम विगत वर्षदेखि नै सञ्चालित छ।

घरधुरी सर्वेक्षण अनुसार महिलाको नाममा सम्पत्ति हुने परिवार संख्या न्यून देखिएको छ। कुल १३ हजार ७ सय ६१ घरधुरी मध्ये महिलाको नाममा चलअचल सम्पत्ति रहेको घर परिवार संख्या २८ सय १४ रहेको छ।

जसमा ७ सय ३० घरपरिवारको महिलाको जग्गामा, १ सय ३४ को घरमा, १९ सय ३६ को घर जग्गामा र ४ जनाको सवारी साधनमा स्वामित्व रहेको देखिएको छ।

ज्येष्ठ नागरिक :
उर्लाबारीमा ज्येष्ठ नागरिकको दर्विलो संगठन रहेको छ। वडा हुँदै नगर समिति सक्रिय छ। उर्लाबारी–४ आइतबारेमा ज्येष्ठ नागरिकको सुविधा सम्पन्न भवन निर्माण भइसकेको छ।

घरधुरी सर्वेक्षण २०७६ अनुसार उर्लाबारीको वडा नं. १ मा ९८१, वडा नं. २ मा ९८३, वडा नं. ३ मा ६१४, वडा नं. ४ मा ४९४, वडा नं. ५ मा ४३०, वडा नं. ६ मा ५४१, वडा नं. ७ मा ९५२, वडा नं. ८ मा १ हजार ८७ र वडा नं. ९ मा ९२२ जना ६० वर्षमाथिका ज्येष्ठ नागरिक रहेका छन्।

नगरमा रहेका ७ हजार ४ जना ज्येष्ठ नागरिक मध्ये ३ हजार २ सय ८३ पुरुष, ३ हजार ७ सय १८ महिला तथा ३ जना तेस्रो लिङ्गी रहेका छन्।

७० वर्ष उमेरमाथिका ज्येष्ठ नागरिकले राज्यले प्रदान गर्ने सामाजिक सुरक्षा भत्ता प्राप्त गर्दै आएका छन्। उर्लाबारी नगरपालिकाले ज्येष्ठ नागरिकको परिचय–पत्र समेत वितरण गरेको छ।

ज्येष्ठ नागरिकको सुविधा सम्पन्न भवन निर्माण भएपनि पुर्वाधारका लागि सहयोगको आवश्यकता देखिन्छ। साथै, वडा वडामा ज्येष्ठहरूका लागि वृद्ध छलफल चौतारी स्थापना गर्नुपर्ने आवाज उठ्दै आएको छ।

बैंकिङ प्रणालीबाट प्रदान गर्दै आएको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न कतिपय ज्येष्ठलाई असहज हुने भएकोले सहजता प्रदान गर्न सम्बन्धित बैंक तथा नगरपालिकाले भूमिका निर्वाह गर्नुपर्ने, बिरामी हुँदा स्वास्थ्य उपचारको प्रवन्ध गरिनुपर्ने देखिएको छ।

बाल विकास :
उर्लाबारी नगरपालिकाले बालबालिकाको चौतर्फी विकासका लागि विभिन्न कार्यक्रम सञ्चालन गरेको छ।

नगरमा नगर प्रमुख खड्ग फागोको अध्यक्षतामा बालमैत्री स्थानीय शासन समिति, उपप्रमुख लक्ष्मीदेवी भण्डारीको अध्यक्षतामा बाल संरक्षण समिति तथा वडामा वडाध्यक्षको संयोजकत्वमा बाल संरक्षण समिति गठन गरिएको छ।

नगरपालिकाले बालबालिका कार्यविधि र सडक बालबालिका कार्यविधि बनाइसकेको छ।

गत वर्ष वडा तथा नगर स्तरीय बाल सञ्जाल गठन भएपनि यस वर्ष कोभिड–१९ का कारण केही ढिला भएको छ। चालु आर्थिक वर्षमा नगरसभाबाट बाल विकासका लागि ५ लाख रकम विनियोजन गरिएको छ।

विनियोजित रकमबाट उनीहरुकै हकहित, क्षमता तथा नेतृत्व विकासका लागि खर्च गरिने नगरपालिकाले जनाएको छ। बालबालिकाले अध्ययन गर्नका लागि उर्लाबारीमा पर्याप्त शिक्षण संस्था खुलेका छन्।

तीन दर्जन निजी तथा दुई दर्जन जति सरकारी विद्यालय यहाँ छन्। यहाँ समुदायमा आधारित ११ वटा बालविकास केन्द्र रहेका छन्। वडा नंं १ मा २ वटा, वडा नं. २ मा १ वटा, वडा नं. ३ मा ३ वटा, वडा नं. ४ मा १ वटा, वडा नं. ७ मा ३ वटा र वडा नं. ९ मा १ वटा बाल विकास केन्द्र रहेका छन्।

सर्वेक्षण अनुसार नगरमा बालबालिकाको संख्या १५ हजार १ सय ७५ रहेको छ। ती मध्ये ६ हजार ४ सय ६ छात्रा र ६ हजार १ सय १४ छात्र गरी १२ हजार ५ सय २२ जना विद्यालय जाने गरेको पाइएको छ।

नगरभित्रका १ हजार २ सय ७२ बालक र १ हजार ३ सय ८१ बालिका गरी २६ सय ५३ बालबालिका विद्यालयको पहुँच बाहिर रहेका छन्। सबै बालबालिकालाई विद्यालय शिक्षाको पहुँचमा पु-याउनु नगरपालिकाको कर्तव्य देखिएको छ।

बालबालिकाको कुरा गर्दा छुटाउनै नहुने विषय हो, नमूना बाल गृह उर्लाबारी–७। नाम जस्तै पूर्वमै नमूना बनेको सो गृहमा अहिले देशका विभिन्न स्थानका ४६ जना अनाथ बालबालिका आश्रित छन्।

उनीहरुको पालन पोषण र बाल गृहको दिगो आर्थिक स्रोतका लागि पहल कदमी आवश्यक देखिएको छ।

अपाङ्गता भएका व्यक्ति :
उर्लाबारीमा ८ सय ७५ जना अपाङ्गता भएका व्यक्तिहरु रहेका छन्। ती मध्ये पूर्ण अशक्त १ सय ४० जनालाई रातो कार्ड, अति अशक्त २ सय ३० जनालाई निलो कार्ड, मध्यम अपाङ्गता भएका ७२ जनालाई पहेँलो कार्ड र ५३ जना आंशिक अपाङ्गता भएकालाई सेतो कार्ड वितरण गरिएको छ। पूर्ण अशक्तले मासिक ३ हजार, अति अशक्तले मासिक १६ सय सामाजिक सुरक्षा भत्ता प्राप्त गर्दै आएका छन्।

अपाङ्गता भएका व्यक्तिहरूलाई आत्मनिर्भर बनाउन उर्लाबारी नगरपालिकामा प्रदेश १ सरकार सामाजिक विकास मन्त्रालय, उर्लाबारी नगरपालिका र करुणा फाउण्डेशनको सहकार्यमा विभिन्न कार्यक्रम अघि सारिएको छ।

केही समयअघि प्रत्येक वडामा अपाङ्गता भएकाहरुको स्वास्थ्य परीक्षण तथा परिचयपत्र वितरण गरिएको थियो। यस्तै, नगरपालिकाले अपाङ्गता रोकथाम तथा पूनस्र्थापना कार्यक्रम अन्तर्गत वडा स्तरीय मिलिजुली समूह गठन गरेको छ।

वडामा गठन भएको समूहका अध्यक्ष, सचिव र कोषाध्यक्षलाई बचत तथा ऋण व्यवस्थापन तथा नेतृत्व विकास तालिम दिएको छ। प्रत्येक वडाको समूहलाई ५० हजारका दरले ४ लाख ५० हजार बिउ पूँजी प्रदान गर्ने, प्रत्येक वडामा पाँच जनालाई सीप विकास तालिम दिएर आत्मनिर्भर बनाउने योजना नगरपालिको अघि सारेको छ।

यस्तै, सहायक सामग्रीहरू ह्वील चियर, लौरो, सेतो छडी, ह्यरिङ इयर वितरण गरिएको छ। यस वर्ष नगरपालिकामा अपाङ्गताको शीर्षकमा ५१ लाख १८ हजार २ सय ८० रुपैयाँ विनियोजन गरिएको छ।

उर्लाबारी नगरपालिकाका नगर प्रमुख खड्ग फागोले अपाङ्गता भएकालाई स्वावलम्बी बनाउन नगरपालिका लागिपरेको बताउँदै मन नखुम्च्याई हिम्मतका साथ अघि बढ्न आग्रह गरेका छन्।

अपाङ्गता भएकाहरुले पनि रचनात्मक काम गरेर देशविदेशमा चर्चामा रहेको उदाहरण दिँदै उनले दृढ इच्छाशक्तिका साथ अघि बढ्नु पर्ने बताए।

यस्तै, उपप्रमुख लक्ष्मीदेवी भण्डारीले नगरपालिकाले प्रदान गरेका विभिन्न तालिममा हासिल गरेको सीपलाई व्यवहारमा उतार्न आवश्यक रहेको बताइन्।

अपाङ्गता भएका व्यक्तिहरू बिस्तारै आत्मनिर्भर हुँदै गएपनि नगरमा निर्माण भएका प्रायः सबै भवन अपाङ्गतामैत्री नहुँदा उनीहरुलाई समस्या भएको छ।

कार्यालयको कामको सिलसिलामा विभिन्न कार्यालय पुग्दा आफूहरुले ठूलो सास्ती खेप्नु परेको अपाङ्गता भएका व्यक्तिहरुको समूह उर्लाबारीका अध्यक्ष व्यासकुमार लिम्बू बताउँछन्।

चुनौती:
उर्लाबारीमा लक्षित वर्गका लागि वर्षेनि ठूलो धनराशी खर्च भएपनि कतिपयले त्यसको छनक पनि पाउन सकेका छैनन्। महिला, अपाङ्गता, बालबालिका, ज्येष्ठ नागरिकका लागि विनियोजित बजेटमा टाठाबाठाकै बोलवाला हुने गरेको गुनासो बढेको छ।

वडाबाट सिफारिस भएर जाने नाममा पनि जनप्रतिनिधिले आफू नजिकका व्यक्तिलाई छनोट गर्दा सच्चा लक्षित वर्ग पछि परेको भान हुने गरेको छ। मजदुर, किसान, गृहस्थी जीवनमा रहेका कतिपयले त्यस्ता तालिम, प्रशिक्षण तथा स्वरोजगारमूलक कार्यक्रमका बारेमा जानकारी नभएको बताउँछन्।

उर्लाबारी–४ की रुक्मिणी चौहान लक्षित वर्गको बजेट तल्लो तहसम्म आउन नसकेको बताउँछिन्। लक्षित वर्गको कार्यक्रममा सहभागीको नाम वडा कार्यालयले पठाउने भएकोले आफूहरु बोलाएको ठाउँमा मात्र जाने गरेको अन्तर पार्टी महिला सञ्जाल उर्लाबारीकी अध्यक्ष गीता खतिवडाको भनाई छ।

‘वडाले उपयुक्त व्यक्तिलाई नै सिफारिस गरेर पठाएको होला’ उनी भन्छिन्, ‘तर, समग्र महिलाहरूको प्रतिनिधित्व भने हुन सकेको छैन।’

निष्कर्ष:
उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले कार्यक्रमहरुमा भन्ने गर्नुहुन्छ, ‘तालिम, गोष्ठीलगायत शीर्षकमा विनियोजन भएको रकम दुरुपयोग हुन दिन्नँ।’ उहाँको भनाईलाई साथ दिएर भन्ने हो भने यहाँ हुने गरेका कतिपय लक्षित कार्यक्रम त्यस्तै पो भइरहेका छन् कि भन्ने आभाष पाइन्छ।

तर, पहिले जे भएपनि अब टाठाबाठा, पहुँचवाला र राजनीतिक आस्थाका आधारमा नभई लक्षित वर्गका सच्चा व्यक्तिलाई नगरपालिकाको पहुँचमा ल्याएर उनीहरुलाई आत्मनिर्भर बनाउन जरुरी छ।

महिला, अपाङ्गता भएकाहरू आत्मनिर्भर हुनु, बालबालिका र ज्येष्ठ नागरिकमा कुनै समस्या नहुनु भनेको नगरको विकासको एउटा खुड्किलो हो। यसतर्फ सबैले सचेत भएर सोच्ने अनि बजेट दुरुपयोग हुन नदिई विकासको पथमा लम्किनु आवश्यक छ।

(भट्टराईपूर्वज्योति साप्ताहिकका सम्पादक हुन्) 

प्रकाशित मिति: : 2021-04-06 12:00:00

प्रतिकृया दिनुहोस्