महिला हिंसा बढ्दै, औसत दैनिक सात महिला बलात्कृत

गोरखापत्र

काठमाडौं

विगत १० वर्षको तथ्याङ्कमा नेपालमा महिला हिंसा बढेको देखिएको छ। यस अवधिमा १७ हजार ७८० महिला तथा बालिका बलात्कृत भएका छन्। नेपालमा प्रत्येक वर्ष औसत २० प्रतिशतका दरले बलात्कारका घटना बढेको देखिएको छ।
नेपाल प्रहरीका अनुसार गत आर्थिक वर्षमा दुई हजार १४४ वटा बलात्कार र ६८७ वटा बलात्कार प्रयासका घटनाको उजुरी दर्ता भएको देखिन्छ। कोरोना महामारीको समयमा २०७६ चैतदेखि २०७७ भदौसम्म देशभर एकहजार २२१ जनामाथि बलात्कार भएको छ। औसत दैनिक सात जना महिला बलात्कृत भएका छन्।
यसैगरी, अनौपचारिक क्षेत्र सेवा केन्द्र–इन्सेकको महिला तथा बालिकामाथि भएको हिंसासम्बन्धी अध्ययन प्रतिवेदन महिला हिंसा यो वर्ष बढेको उल्लेख छ।
तथ्याङ्क अनुसार सन् २०१८ मा सात को हाराहारीमा बलात्कारका घटना भएकोमा सन् २०२० को अगस्टसम्म दोब्बर घटना भएको देखिएको छ। यस वर्ष एक हजार चारसय भन्दा बढी महिला तथा बालिकामाथि बलात्कार भएको तथ्याङ्क इन्सेकले सार्वजनिक गरेको छ।
यसैगरी, ओरेक नेपालको अभिलेख अनुसार अघिल्लो आर्थिक वर्ष मा १४३ वटा बलात्कार र १८ वटा बलात्कार प्रयासको घटना अभिलेखन भएकोमा यस वर्षे भदौसम्म मात्रै १७८ वटा बलात्कार र ४० वटा बलात्कार प्रयासका घटना भएका छन्।

प्रकाशित मिति: : 2021-04-07 15:23:00

प्रतिकृया दिनुहोस्