सुकदेव र ज्योति ओभरअल विजेता

सुकदेव कार्की र ज्योति थापा रुप कार्की स्मृति प्रथम नेपाल्स स्ट्रोङगेष्ट राष्ट्रव्यापी पावर लिफ्टिङ प्रतियोगितामा ओभरअल विजेता बनेका छन्।

सुकदेव पुरुष तथा ज्योति महिलातर्फ च्याम्पियन बनेका हुन्। नेपाल पावर लिफ्टिङ संघद्वारा आयोजित प्रतियोगितामा सुकदेव र ज्योति आ-आफ्नो प्रतिस्पर्धामा पनि पहिलो भए।

सुकदेव ५९।१–६६ केजी तथा ज्योति ६० केजीमुनि तौलसमूह पहिलो भए। दुवैले ओभरअल विजेता बनेवापत ५१ हजार नगद पुरस्कार हात पारे। स्पर्धामा पहिलो भएवापत दुवैलाई छुट्टै जनही १० हजार नगदबाट पुरस्कृत गरियो।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतियोगिताको पुरुष ५९ केजीमुनि हर्क राई, ६६।१–७४ केजीमा रविन राई, ७४।१–८३ केजीमा ओजशचरण जोशी, ८३।१ देखि ९३ केजीमा आदित्य चौधरी र ९३ केजीमाथि डा। मोहित कार्की पहिलो भए।

महिला ६० केजीमाथि सुजिता मानन्धरले शीर्ष स्थान हात पारिन्। पुरुष भेट्रानको ४०–५० वर्षमा टेकेन्द्र गुरुङ तथा ५० वर्षमाथि राजकुमार घजु पहिलो बने।

१० स्पर्धामा समावेश प्रतियोगिताको हरेक स्पर्धामा पहिलो हुनेलाई १० हजार, दोश्रोलाई ५ हजार र तेश्रोलाई ३ हजार नगद पुरस्कार प्रदान गरिएको आयोजक समितिका सचिव सुरेश सुवेदीले जनाएका छन्। एकदिने प्रतियोगितामा ७३ पुरुष र २८ महिला गरी १ सय १ खेलाडी सहभागी थिए।

अमेरिकामा बस्दै आएका पावर लिफ्टिङका मास्टर्सतर्फका दुई पटकका विश्व च्याम्पियन स्व रुप कार्कीको स्मृतिमा प्रतियोगिता आयोजना गरिएको हो। नेपालमै रहेका बेला केहि महिनाअघि उनको हृदयघाटका कारण निधन भएको थियो।


मृत्यु शैंयाबाट उठेका बडीबिल्डर सुकदेव कार्की

 

प्रकाशित मिति: : 2021-04-11 21:38:00

प्रतिकृया दिनुहोस्