पूर्वपश्चिम राजमार्गको मुग्लिन–नारायणगढ खण्डमा रहेका पुल चौडाइको काम अघि बढाइएको छ।
झण्डै १२ मिटर चौडाइमा सडक विस्तार भएकोमा सडक विभागले पुल विस्तार अघि बढाएको हो।
हाल सञ्चालनमा रहेका पुललाई छाडेर त्यसको आसपासमा नयाँ पुल निर्माण अघि बढाइएको हो। अबको दुई वर्षमा १५ वटै पुल निर्माण सकिने नारायणगढ–मुग्लिन सडक आयोजनाले जनाएको छ।
छत्तीस किमी लम्बाइको सो सडकमा रहेका १५ पुलमध्ये सात पुलको काम अहिले अघि बढिरहेको छ। पहिले रहेका पुल त्यही छाडेर त्यसको माथि वा तल्लो भागमा पुल बनाउन लागिएको आयोजना प्रमुख अमृतमणि रिमालले जानकारी दिए।
निर्माण भइरहेकामध्ये सबैभन्दा लामो पुल सिद्धिदोभानको पुल रहेको छ। त्यसको लम्बाई ६५ मिटर छ। यो आवमा सेतीदोभान, खहरे खोला, जलबिरेलगायत पुल सकिने देखिएको आयोजनाले जनाएको छ। सो खण्डमा सडकको कालोपत्र गत वर्ष सम्पन्न भएको थियो।