बाँकेमा एकैदिन १२७ जनामा कोरोना संक्रमण पुष्टि

बाँकेमा एकैदिन १२७ जनामा कोरोना संक्रमित थपिएका छन्।

बाँकेको भेरी अस्पतालमा १८३ जनाको नमुना परीक्षण गर्दा १२७ जनामा कोरोना भाइरस  संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा १८३ जनाको नमुना परीक्षण गर्दा १२७ जनामा संक्रमण पुष्टि भएको  अस्पतालले जनाएको छ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन डाक्टर प्रकाशबहादुर थापाका अनुसार अनुसार संक्रमण दर ६९.४ प्रतिशत हुन आउँछ।

कोरोना संक्रमण पुष्टि भएका १२७ जनामध्ये ५ जना अस्पतालका कर्मचारी समेत रहेको उनको भनाइ छ।

एकै दिन यति धेरै संख्यामा संक्रमित पहिचान भएको विगत एक वर्षमा बाँकेमा यो पहिलो पटक हो।

भेरी अस्पतालमा  कोरोना संक्रमित मध्ये ७ जना भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।  ४० जना आईसीयूमा छन् भने ४३ जना कोभिड वार्डमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ।

भेरी अस्पतालमा १२७ जना र नेपालगन्ज मेडिकल कलेज, शिक्षण अस्पतालमा ४५ जनामा कोरोना संक्रमण भेटिएपछि अवस्था झनै भयावह हुन सक्ने भन्दै नियन्त्रण प्रयासका लागि आवश्यक निर्णय लिन जिल्ला कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर  बाँकेको बैठक शुरु भएको छ।

प्रकाशित मिति: : 2021-04-16 14:17:00

प्रतिकृया दिनुहोस्