अस्ट्रेलिया बसेर व्यवसाय र संगीतमा जमिरहेकी निशा (भिडिओ)

सेतोपाटी

काठमाडाैं
Setopati

प्रभाकर गौतम / सुसन चौधरी


निशा कँडेल लिजेन्स एजुकेसन कन्सल्टेन्सीकी सञ्चालक हुन्। अस्ट्रेलियामा रहेको यो कन्सल्टेन्सी उनी र उनका श्रीमान मिलेर चलाउँछन्।

व्यवसायसँगै निशा संगीतमा पनि सक्रिय छिन्। काम र संगीत सँगै अघि बढाइरहेकी उनी थोरै गीत गाएर पनि प्रशंसक कमाउन सफल छिन्। 

छ वर्षअघि बिहे गरेर श्रीमानसँग अस्ट्रेलिया पुगेकी उनी सुरूमा कभर गीतहरू गाउँथिन्। गायक सनुप पौडेलका साथमा गाएको उनले आफ्नो पहिलो गीत 'तस्बिर' दुई वर्षअघि निकालिन्। स्रोता-दर्शकले रूचाएको यो गीतको भिडिओले युट्युबमा तीस लाख बढी भ्यूज पाएको छ। 

गैंडाकोट, नवलपरासीमा जन्मे-हुर्केकी निशा सफ्ट मेलोडियस गीत गुनगुनाउन मन पराउँछिन्। हालसम्म पाँच गीत सार्वजनिक गरेकी निशाको डेढ महिनाअघि 'तस्बिर-२' गीत सार्वजनिक भएको छ। गायक अमन प्रधानका साथमा उनले गाएको यो गीतबाट पनि उनले माया पाइरहेकी छिन्।

सैनिक पृष्ठभूमि भएको परिवारबाट आएकी निशा नेपाल छँदा गायनमा लाग्न परिवारको साथ पाएको बताउँछिन्। बिहेपछि श्रीमानबाट पनि आफ्नो रूचिअनुसार गाउन साथ पाएको उनको भनाइ छ।

केही समयदेखि नेपालमै रहेकी उनले सेतोपाटी गितार सेसनमा भनिन्, 'श्रीमान संगीत मन पराउने र साथ दिने भएकाले विदेशमा पनि गायनलाई निरन्तरता दिन पाइरहेकी छु।'

आफ्नै व्यवसाय भएकाले पनि विदेशमा संगीतका लागि समय निकाल्न सम्भव भएको उनको अनुभव छ। 

प्रकाशित मिति: : 2021-04-17 19:17:00

प्रतिकृया दिनुहोस्