सर्वेन्द्र खनालको जीवन : ‘देशका लागि हानिकारक तत्व धेरै सिध्याएँ’

कुवेर गिरी

काठमाडाैं

सर्वेन्द्र खनाल नेपाल प्रहरीका पूर्वमहानिरीक्षक हुन् । प्रहरी निरीक्षकबाट वि.सं २०४६ मा सेवा सुरु गरेका उनले महानिरीक्षकको कार्यकाल सकेर अघिल्लो वर्ष अवकाश लिइसकेका छन् । तनहुँमा जन्मिए पनि बाल्यकाल काठमाडौँमा बिताएका खनालले नेपाल प्रहरीमा रहँदा थुप्रै उल्लेखनीय कार्य गरेका थिए । एक समय नेपाल प्रहरीमा ‘सेलिब्रेटी अफिसर’का रूपमा चिनिएका खनालले महानगरीय अपराध महाशाखामा रहँदा कुमार ‘घैँटे’ को इन्काउन्टर गरेका थिए । फुटबलको म्याच फिक्सिङ काण्ड पर्दाफास गर्ने श्रेय पनि उनैलाई जान्छ । महानिरीक्षक बनेपछि भने कार्यसम्पादन राम्रो गर्न नसकेको भन्दै खनालमाथि आलोचना पनि भयो । खासगरी निर्मला पन्तका हत्यारा पत्ता लगाउन नसकेको अपजस उनले बोक्नुपर्‍यो । अवकाशपछि पनि उनी राजनीतिक विवादमा तानिए । प्रहरी सेवामा रहँदा प्रशंसा र आलोचना दुवै कमाएका नेपाल प्रहरीका २६औँ प्रहरी महानिरीक्षक खनालको जीवनका विभिन्न पाटा रातोपाटीको ‘मेरो जीवन’ स्तम्भमा खोतल्ने प्रयास गरेको छ । सर्वेन्द्र खनालको जीवन, उनकै शब्दमा–

जीवनको धेरै समय अर्थात ३० वर्ष प्रहरी सङ्गठनमा बिताएँ । २०४६ सालमा प्रहरी निरीक्षकबाट सुरु गरेको सेवा प्रहरी महानिरीक्षक भएर अवकाश लिएँ ।

प्रहरीमा जागिर सुरु गर्दा महानिरीक्षकसम्म हुन्छु भन्ने थियो, त्यहीअनुसार अपडेट गर्दै लगेँ र भएँ पनि ।

प्रहरी जागिरको सिलसिलामा माओवादीको कथित जनयुद्धको सामना पनि गर्नुपर्यो । त्यो समय जिन्दगी नै जोखिम पर्ने अवस्था र डरले रातभरि जाग्राम बसेर दिनभर सुत्नुपर्ने अवस्थाको समेत सामना गरियो ।

जागिरको अवधि दुःखैदुःखमा बित्यो । काम र कर्तव्यको सिलसिलामा समय, ठाउँ, घामपानी, भोक र निन्द्रा केही भनिएन । त्यो समय किन यस्तो पेसामा रोजेछु भन्नेसमेत भयो । राम्रो काम गर्दा पनि नेगेटिभ नजरले हेरिँदा जागिर छोडौँ जस्तो लागेको थियो ।

पेसा अनुसारको कामको सिलसिलामा अनैतिक, आपराधिक क्रियाकलापविरुद्ध लड्दै गर्दा उनीहरुको नेटवर्क बलियो हुँदा आफूमाथि पनि प्रहार भयो । जीवनसँग जोडेर विभिन्न धम्कीसमेत आउँथ्यो । देश लागि हानिकारक तत्त्व धेरै सिध्याएँ । राष्ट्र र जनताका लागि धेरै काम गरेँ । नराम्रोसँग भिडेँ, राम्रोलाई राम्रो गरेँ, नराम्रोलाई सिध्याएँ पनि । जीवनमा थ्रेट कति आए कति ।

प्रकाशित मिति: : 2021-04-17 19:20:00

प्रतिकृया दिनुहोस्