त्रिकोणात्मक टी–२० सिरिजमा नेदरल्याण्ड्सले मलेशियालाई पराजित गरेको छ। कीर्तिपुस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार भएको खेलमा नेदरल्याण्डस्ले मलेशियालाई १५ रनले पराजित गरेको हो।
टस जितेर पहिला ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा दुई विकेट गुमाएर १९१ रन बनायो। एक सय ९२ रनको विजय लक्ष्य पछ्याउने क्रममा मलेशियाले आठ विकेट गुमाउँदै १७६ रन मात्र बनायो।
नेदरल्याण्ड्सका लागि म्याक्स ओडाउडले शतकीय पारी खेले। उनले ७३ बलमा अविजित १३३ रन बनाए। उनले ६ छक्का र १५ चौका प्रहार गरे। यस्तै, कप्तान बेन कुपरले २० तथा स्कोट इडवार्डले ३१ रन बनाए। बलिङतर्फ मलेशियाका लागि पवनदीप सिंह र अनवर अहमदले एक–एक विकेट लिए।
जवाफी ब्याटिङमा उत्रेको मलेशियाको खराव सुरुवात रह्यो। मलेशियाले २० रन बनाउँदा तीन विकेट गुमाएको थियो। मलेशियाका लागि सरभिन मुनिडेले २८, विरनदिप सिंह ८७, अनिमुद्दिन राम्लेले २६ तथा सर्भिन मुनिन्डेले २८ रन बनाए।
बलिङतर्फ नेदरल्याण्ड्सका लागि आर्यन दत्त, बास डी लिडी र सवास्चियन ब्राटले दुई दुई विकेट लिए। प्रतियोगितामा नेपालले सोमबार मलेशियासँग आफ्नो दोस्रो खेल खेल्ने छ। पहिलो खेलमा शनिबार नेपालले नेदरल्याण्ड्लाई नौ विकेटले पराजित गरेको थियो। तीन देश सम्मिलित त्रिकोणात्मक टी–२० सिरिजमा नेपाल शीर्ष स्थानमा नेदरल्याण्डस् दोस्रो तथा मलेशिया पुछारमा छ।