बाँकेमा कोरोना संक्रमणबाट स्टाफ नर्ससहित दुई जनाको मृत्यु

सांकेतिक तस्वीर
सांकेतिक तस्वीर

बाँकेमा आज कोरोना सङ्क्रमणबाट स्टाफ नर्ससहित दुई जनाको मृत्यु भएको छ।

भेरी अस्पताल नेपालगञ्जमा उपचाररत दाङ तुलसीपुर निवासी २० वर्षीय स्टाफ नर्सको आज बिहान ११ बजेतिर उपचारकै क्रममा मृत्यु भएको भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा प्रकाश थापाले जानकारी दिए।

उनका अनुसार छ दिनदेखि भेरी अस्पतालमा उपचार गराइरहेकी स्टाफ नर्सको मृत्यु भएको हो। मृतक स्टाफ नर्स दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत थिइन्।

यसैगरी बाँकेमा होमआइसोलेशनमा रहनुभएका कोहलपुर नगरपालिका–१४ का ७५ वर्षीय सङ्क्रमित पुरुषको आज बिहान मृत्यु भएको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज ओलीले जानकारी दिए।

उनका अनुसार आइतबार कोरोना सङ्क्रमण पुष्टि भएका दीर्घरोगीका बिरामीलाई परिवारकै आग्रहमा होम आइसोलेशनमा राखिएको अवस्थामा आज बिहान करीब १ बजे मृत्यु भएको थियो।

योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ६१ पुगेको छ।रासस

प्रकाशित मिति: : 2021-04-19 18:38:00

प्रतिकृया दिनुहोस्