चक्रपथको कोटेश्वर-कलङ्की खण्डमा ‘ट्राफिक बत्ती’ जडानका लागि प्रक्रिया अघि बढाइएको छ।
अहिले ठेक्का मूल्याङ्कन स्वीकृतिको चरणमा रहेको विभागले जनाएको छ। कोटेश्वर-कलङ्की खण्डमा चारदेखि पाँच ठाउँमा बत्ती जडान गर्ने योजना बनाइएको विभागका सडक सुरक्षा तथा ट्राफिक शाखाका युनिट चिफ कृष्णनाथ ओझाले बताए।
चीन सरकारको सहयोगमा केही वर्ष पहिले विस्तार भएको यो खण्ड उपत्यकामा सवारी दुर्घटना बढी हुने सडकमध्येको हो। उनका अनुसार यो सडकमा ट्राफिक बत्ती जडान चालू आवमा ठेक्का लागेर अर्को वर्ष काम हुनेछ। यसका लागि बजेट छुट्टाइएको उनको भनाइ छ। उनले भने, “यो वर्ष शुरु भएपछि अर्को वर्ष चार÷पाँच महिनामा सकिन्छ।”
केही वर्ष पहिलेसम्म पनि काठमाडौँ उपत्यकामा कुनै पनि स्थानमा ट्राफिक बत्तीले काम नगरेकामा विभाग आफैँले केही वर्षयता गरेर झण्डै १९ ठाउँमा बत्ती जडान गरिसकेको छ।
विभागलाई स्थानीय तहलगायत अरु निकायले जडान गरेकामा सम्पर्क नगरी जडान भइरहेको युनिट चिफ ओझाले जानकारी दिए। अहिलेसम्म बत्ती जसजसले जडान गरेको छ उसले ‘सिस्टम’ आआफ्नो तरिकाले राख्ने गरेको उनले जानकारी दिए। उनका अनुसार जेठसम्म मर्मत अवधि भएकाले त्यसपछि ‘सिस्टम’ विभागलाई हस्तान्तरण हुनेछ।
विभागले जडान गरेका ठाउँमा पनि ‘मर्मत अवधि’ चलिरहेकाले अहिलेसम्म त्यसको ‘सिस्टम’ आउन बाँकी छ। जडान गर्ने कम्पनीले हस्तान्तरण गरेपछि केही अपडेट गर्नुपर्ने उनले बताए। ‘प्रोग्राम’ नियन्त्रणको काम विभागको हुनेछ।