कुबेत सरकारको सहयोगमा बक्राआ खोलाको पानी किसानको गरा-गरामा पुर्‍याइँदै, ११ हजार हेक्टरमा सिँचाइ पुग्ने

तेजन खड्का

उर्लाबारी

मोरङको उर्लाबारीमा कुबेत सरकारको सहयोगमा बक्राहा नदी नियन्त्रण एवं सिँचाइका लागि हेडबक्स र इनटेक निर्माण भइरहेको छ।

बक्राहा–खैदुगसरा (खैरेनी, दुर्गापुरी, गगँटे, सखुवानी र रातेहोली) सिँचाइ जल उपभोक्ता संस्था उर्लाबारी–८ लाई सिँचाइ व्यवस्थापनका लागि ४ करोड ७६ लाख रुपैयाँ कुवेत सरकारले सहयोग गरेपछि आयोजनाका काम सुरु भएको हो। गत पुस १३ गते आयोजनाको शिलान्यास भएको थियो।

सङ्घीय सरकारले सिँचाइ विभाग मार्फत ३ करोड ४१ लाख रुपैयाँमा टेण्डर लगाएको आयोजनाको काम पृथ्वी कन्सल्टेन्सी एण्ड इनर्जी ग्रुप सर्लाहीले गरिरहेको छ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत बक्राहा नदीको पूर्व–दक्षिणमा कोशी–बक्राहा नदी नियन्त्रण कार्यालयले तटबन्धको काम गरिरहेको छ।

पूलबाट दक्षिण तर्फ ५४६ मिटर बाँध निर्माण कार्य धमाधम भइरहेको छ। सोही बाँधसँग जोडेर उच्च बाँध र सिँचाइका लागि आवश्यक हेडबक्स र इनटेक निर्माण गरिएको हो।

किसानको गरा–गरामा बक्राहा खोलाको पानी बाह्रै महिना पु-याउने उदेश्यले यो सिँचाइ आयोजनाको सुरु गरिएको बक्राहा–खैदुगसरा जलउपभोक्ता संस्थाका अध्यक्ष विष्णुप्रसाद निरौलाले बताए।

निरौलाले भने, 'बक्राहा पुलको पूर्वतर्फबाट  किनारै किनार  दक्षिणतर्फ बाँध निर्माण अन्तिम चरणमा पुगेको छ। यो बाँध १५ फिट उचाई र २० फिट चौडाईको छ। बाँधसँगै जोडेर हेडबक्स निर्माण गरिएको छ।'

ढुङ्गा र तारजाली लगाएर बनाइएको हेडबक्सबाट इनटेकमा पानी पुगेपछि बालुवा फिल्टर भएर किसानको जमीनमा पानी पुग्ने निरौलाको भनाई छ।

जल उपभोक्ता संस्थाका सह–सचिव एवं खैरेनी सिसौली बक्राहा नदी नियन्त्रण उपभोक्ता संस्थाका सचिव विजय गौतमका अनुसार २ करोड रुपैयाँको लागतमा कोशी बक्राहा नदी नियन्त्रण आयोजनाले  बाँध निर्माण गरेको हो।

गौतमले भने, 'बाँध निर्माण भएपछि पूर्वतर्फ खोलाले कटान गरेको ५० बिगाहा जमिन किसानले उपभोग गर्न पाउने भएका छन्।' उच्च बाँध निर्माण भएसँगै बर्सेनी असार लागेपछि बक्राहाको त्रासमा बाँच्ने खोला किनारका बासिन्दा खुसी भएका छन्।

इन्टेकबाट २१ सय मिटर लम्बाईको (लाइनिङ) नहर  निर्माण गरिने गौतमको भनाई छ। उनले भने, 'यो वर्षको बजेटले २१ सय मिटर लाइनिङ निर्माण हुन्छ।' सिँचाइ आयोजना निर्माण सम्पन्न भएपछि उर्लाबारीको ११ हजार हेक्टर जमिनमा सिँचाइ पुग्नेछ।

जलउपभोक्ता संस्थाका अध्यक्ष निरौलाले भने, '१२ किलोमिटर लाइनिङ निर्माण गर्ने लक्ष्य हो। १२ किलोमिटर लाइनिङ निर्माण गरिसक्दा रतुवामाई र उर्लाबारी नगरपालिकाको  २५ सय हेक्टर जमीनमा सिंचाई पुग्नेछ।’

पृथ्वी कन्सल्टेन्सी एण्ड इनर्जी ग्रुप सर्लाहीले सरकारसँग आयोजना सम्पन्न गर्न १५ महिने सम्झौता गरेको थियो। तर, निर्माण कम्पनीले बङ्गलादेशबाट कामदार ल्याएर आयोजना ४ महिनामा नै सम्पन्न गर्न लागेको अध्यक्ष विष्णुप्रसाद निरौलाले बताए।

निरौलाले थपे, '५० जना कामदारले २४ घण्टा काम गरिरहेका छन्। राति पनि विजुली बालेर काम गर्छन्।' झण्डै ९० प्रतिशत काम सम्पन्न भइसक्दा पनि सिँचाइ विभागले निर्माण कम्पनीलाई ४४ लाख रुपैयाँ मात्र उपलब्ध गराएको छ। 'छिट्टो काम सम्पन्न गर्दा पनि राज्यले ननिको मान्दो रहेछ', निरौलाले भने।

उता जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय मोरङका डिभिजनल इन्जिनीयर शैलेश पोख्रेलले तेस्रो चौमासिक फुकुवा भएर आउना साथ निर्माण कम्पनीले पैसा पाउने बताए।

उनले भने, '१५ महिने आयोजना भएकोले बाँकी रकमका लागि केही समय कुर्नु पर्ने हुनसक्छ। तर, काम फाष्टट्रयाकमा भएको हामी त्यो पैसा पनि रोक्ने छैनौं।' सम्भव भएसम्म यो आर्थिक वर्ष भित्रै निर्माण कम्पनीले पैसा पाउने इन्जिनीयर पोख्रेलले बताए।

प्रकाशित मिति: : 2021-04-23 17:23:00

प्रतिकृया दिनुहोस्