प्रधानमन्त्रीले यसरी गरे नयाँ धरहराको उद्घाटन (भिडियो)

प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार धरहरा उद्घाटन गरे।

६ वर्ष अघिको भूकम्पले भत्किएको धरहरा नजिकै बाहिरी आवरण उस्तै देखिने धरहरा निर्माणपछि आज उद्घाटन गरिएको थियो। 

उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले  नेपालीको भावना र गौरव, अतीत र इतिहास जोडिएको धरहरा निर्माण सम्पन्न हुँदा खुशी अनुभव भएको बताएका छन्। 'धरहरा चढ्दा आइफल टावर चढेजस्तै अनुभव भयो', उनले भने। 

'म बनाउँछु, मेरो धरहरा' अभियानअन्तर्गत २४ करोड रकम जम्मा भएको उनले जानकारी गराए। आधुनिक सामग्री प्रयोग गरेर नभत्किने खालको धरहरा निर्माण भएकोमा उनले खुशी व्यक्त गरे।

प्रधानमन्त्री ओलीले विसं २०७२ वैशाख १२ गते धरहरा ढल्दा निधन भएका ६० जनाको परिवारका एक÷एक जना सदस्यलाई धरहरा परिसरमा निर्मित संरचनाका लागि आवश्यक जनशक्तिका रुपमा रोजगारी दिने घोषणासमेत गरे। धरहरा क्षेत्रमा मिल्ने रोजगारी नभएमा अन्यत्र पनि मृतकका परिवारलाई प्राथमिकताका साथ रोजगारी दिने उनले प्रतिबद्धता जनाए।



काठमाडौँको साख फर्काउँदै आधुनिक धरहरा



४२ रोपनी क्षेत्रफलमा फैलिएको धरहरा वरिपरि बगैँचा, संग्रहालय, रंगिन जलफोहरा, प्रदर्शनी हल, पार्किङ स्थल, पसललगायत रहने छन्।

धरहरा बाहिरबाट झट्टहेर्दा ११ तला लागे पनि भित्र भने २२ तलाको हुनेछ। यसको उचाई ७२ मिटर तथा ४८ फिटको बेश हुनेछ। धरहरा परिसरमा पार्किङसहित रेष्टुरान्ट, बगैँचा, पुस्तकालयलगायत सुविधा हुनेछन्।

पार्कभित्र बस्ने ठाउँ, ढुङ्गेधारा, हरियाली, चमेनागृह हुनेछ। धरहरामा पढ्न चाहने, ध्यानगर्न चाहने या बस्न चाहने सबैका लागि सुविधा उपलब्ध हुनेछ। बालबालिका तथा ज्येष्ठ नागरिक मैत्री हुने र त्यहाँ आउने अवलोकनकर्ता सवारी साधनको व्यवस्थित पार्किङ गर्न सकिने गरी पुनःनिर्माण भइरहेको छ।

धरहराको १८औँ तलामा अवलोकलन कक्ष हुनाका साथै धरहरा परिसरमा म्युजियम, वाटर फाउन्टेन, बगैँचा, रेष्टुरेन्टका साथै अत्याधुनिक पार्किङको व्यवस्था गरिनेछ।

प्रकाशित मिति: : 2021-04-24 19:47:00

प्रतिकृया दिनुहोस्