कोरोना संक्रमणका कारण यसै साता काठमाडौंको नर्भिक अस्पताल भर्ना भएका पूर्वराजा ज्ञानेन्द्रको स्वास्थ्य अवस्थामा सुधार आएको छ भने पूर्वरानी कोमल शाहलाई साँझ प्लाज्मा दिन लागिएको छ।
पूर्वरानी कोमलको स्वास्थ्य अवस्था समाचारमा आएजस्तो चिन्ताजनक नरहेको दरबार श्रोतले बिएल नेपाली सेवालाई बतायो।
‘जसरी मिडियामा बाहिर कुरा आइरहेको त्यस्तो डराउनुपर्ने अवस्था छैन। खाली अक्सिनजन दिइएको हो। आज साँझ प्लाज्मा दिने कुरा छ,’ श्रोतले बतायो।
पूर्वराजा तथा पूर्वरानी गत महिना भारतको हरिद्धारस्थित कुम्भमेलामा शाहीस्नानका लागि गएका थिए। भारत जानुअघि गरिएको पिसिआरमा दुबैको रिपोर्ट नेगेटिभ आएको थियो। तर, भारतबाट फर्किएपछि गरिएको पिसिआरमा दुबैको रिपोर्ट पोजेटिभ देखिएको थियो।
हरिद्धारमा शाहीस्नानका क्रममा पूर्वराजा ज्ञानेन्द्र मात्र सम्मिलित भएका थिए। पूर्वरानी कोमलले भने भारतीय राजधानी नयाँदिल्लीमा बसेर उपचार गराएको परिवारिक श्रोत बताउँछ।
‘उहाँ कुम्भमा सहभागी हुनुभएन। स्वास्थ्य परीक्षणका लागि दिल्लीमै बस्नुभयो,’ श्रोतले भन्यो।