झिग्राना–बीचपानी–बुगीदह सडकखण्ड इआइएका लागि सहमति

File photo
File photo

वन तथा वातावरण मन्त्रालयले सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीयस्थल खप्तड जोड्न निर्माण गर्न लागिएको झिग्राना–बीचपानी–बुगीदह सडकखण्डको वातावरणीय प्रभाव मूल्याङ्कन(इआइए) अध्ययनका लागि सहमति दिएको छ।

वनमन्त्री प्रेमबहादुर आलेले उक्त सडकखण्डको इआइएका लागि सहमति दिएका हुन्। वातावरणीय प्रभाव र जैविक विविधतामा पर्ने असर कम गर्दै वातावरणमैत्री सडक निर्माण गर्ने उद्देश्यले सहमतिपत्र दिइएको उनका स्वकीय सचिव हेमन्त रेग्मीले बताए। 

जिल्ला सदरमुकाम सिलगढीबाट झिग्रानासम्म कम्तीमा  २१ किमी दूरी भए पनि ठाडो भिरालो भूसतह र असहज बाटो हुँदा कम्तीमा पनि चार घण्टा पैदल लाग्ने छ। स्थानीय जनताले अत्यन्त दुःख भोग्नुपरेको तथा वर्षौँदेखि सडक निर्माणको काम रोकिएको गुनासो आएपछि मन्त्री आलेले सहमति दिनुभएको जनाइएको छ। 

सडक निर्माण सकिए खप्तड क्षेत्रमा पर्यटक भित्र्याउन निकै सहज हुने तथा यहाँका नागरिकको आर्थिकस्तर वृद्धि हुने पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष दीर्घराज बोगटीले बताए। 

सडक निर्माणबाट राष्ट्रिय निकुञ्जका कर्मचारीलाई समेत फिल्ड अनुगमन, निरीक्षण तथा गस्तीमा सहज हुने र वन्यजन्तु एवं जैविक विविधता संरक्षणमा थप टेवा पुग्ने विश्वास गरिएको मन्त्रालयले जनाएको छ। रासस 

प्रकाशित मिति: : 2021-05-03 17:53:00

प्रतिकृया दिनुहोस्