विवेकशील साझा पार्टीले कोरोना भाइरस विरुद्धको भारतीय खोप खरिद प्रक्रियामा अवरोध एवम् अन्य मुलुकमा उत्पादित खोप ल्याउन सरकारको अलमलबारे हालै सार्वजनिक समाचार विवरणहरूप्रति चासो र चिन्ता व्यक्त गरेको छ।
प्रवक्ता शरदराज पाठकले शुक्रबार विज्ञप्ति जारी गर्दै भनेका छन्, 'विवेकशील साझा पार्टीले खोप प्रकरणबारे हालसम्म सार्वजनिक समाचार र तथ्यहरूको समीक्षा पश्चात् आफ्नो अक्षमता, नालायकी, अकर्मण्यता र भ्रष्टता ढाकछोप गर्न आंशिक रूपमा दोषको भागीदार देखिएका व्यापारीहरूको थाप्लोमा सम्पूर्ण दोष थोपरेर सरकार आफू चाहिँ चोखिने प्रयत्न गरिरहेको निष्कर्षमा पुगेको छ।'
यस्ता छन् सरकारलाई विवेकशील साझाका प्रश्नहरू
१. महामारीजस्तो राष्ट्रियरविश्वव्यापी सङ्कटका बेला यदि केही व्यापारीकै कारण खोप खरिद तथा आयात जस्तो संवेदनशील प्रक्रियामा अवरोध सिर्जना भएको हो भने ती व्यापारीमाथि किन कारबाही गरिएन?
२. केही व्यापारीका अगाडि निरीह देखिएर उनीहरूको टाउकोमा दोष थोपर्दै भयावह स्थितिबाट सरकार उम्कन मिल्छ? फेरी, त्यस्ता व्यापारीहरू सरकार हाँक्ने नेताहरूबाटै संरक्षित छैनन् र?
३. भारतीय उत्पादकबाट खोप ल्याउन बिचौलियाले रोकेको र त्यो अवरोध सल्टाउन कठिन भएकै हो भने अन्यत्रबाट खोप ल्याउने प्रक्रिया समयमै अघि बढाउन चाहिँ सरकारलाई कसले अवरोध गर्यो?
४. प्रधानमन्त्री केपी ओलीले तीन महिनाभित्र सबै नेपालीलाई निःशुल्क खोप दिलाउने घोषणा गरेका थिए। मानिलिऊँ, कसैले अवरोध नगरेर भारतबाट थप ५० लाख डोज खोप सहजै आएको भए पनि त्यो प्रधानमन्त्रीले घोषणा गरे अनुरूप बाँकी नेपालीलाई खोप लगाउन पर्याप्त हुने थिएन। बाँकी खोप ल्याउन चाहिँ सरकारले हालसम्म के गरेको छ?
'चाहे व्यापारी हुन् या सरकार, यस्तो विपदमा पनि निहित स्वार्थ वा लाभबाट प्रेरित भएर खोप आयातमा अवरोध सिर्जना गर्नु तथा अलमल गर्नु अक्षम्य अपराध हो। यसर्थ खोप प्रकरणमा संलग्न सबैमाथि छानबिन होस्, दोषी देखिएमा कडा कारबाही होस्', विवेकशील साझाले भनेको छ।
साझा पार्टीले सरकार त्यतिमै उम्किन नपाउने र यी सबै घटनाको सरकार ले जिम्मेवारी लिनुपर्ने बताएको छ।
विवेकशील साझाले माथि उल्लेखित चार प्रश्नहरूको स्पष्ट र चित्तबुझ्दो जवाफ तत्काल नागरिकसमक्ष पेस गर्न सरकारसँग माग समेत गरेको छ।
'अन्यथा राज्यले आफूलाई निरीह देखाएर, आंशिक विवरणहरू मात्र बाहिर ल्याएर सरकारले आफ्नो अक्षमता ढाकछोप गर्न अनेक भाष्य निर्माण गर्नु कदापि स्वीकार्य हुन सक्दैन', विवेकशील साझाले भनेको छ।
'जनताको अभिभावक सरकार हो, व्यापारी होइन। राज्य शक्ति सरकारसँग छ, व्यापारीसँग होइन। तसर्थ भारतीय कम्पनीलाई पैसा तिरेर पनि प्राप्त हुन बाँकी १० लाख डोजसहित आवश्यक परिमाणको खोप अन्य मुलुकबाट चाँडो आयात गर्न विवेकशील साझा पार्टी सरकारसँग जोडदार माग गर्दछ।' विज्ञप्तिमा उल्लेख छ।